गगन थापाको दाबी : ‘आफ्नो चाहना विपरीत ससुरा अर्जुननरसिंह समानुपातिकको सूचीमा परे’

गगन थापाको दाबी : ‘आफ्नो चाहना विपरीत ससुरा अर्जुननरसिंह समानुपातिकको सूचीमा परे’


काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आफ्नो चाहनाविपरित ससुरा अर्जुननरसिंह केसी समानुपातिकको सूचीमा परेको दाबी गरेका छन् ।

काँग्रेसले आज समानुपातिकतर्फको पेश गरेको बन्द सूचीमा आफ्नो चाहनाविपरित ससुरा केसी समानुपातिक उम्मेदवार बनेको दाबी गरेका हुन् ।

थापाले ससुरा केसीलाई समानुपातिकको सूचीमा राख्न प्रयास नगरेको बताउँदै बाहिर गलत हल्ला फैलाइएको बताए । उनले ससुरा समानुपातिकको सूचीमा पर्नु आफ्नो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय भएको बताए ।

उनले भने,‘नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीलाई मेरो प्रयासमा समानुपातिक सूचीमा राखिएको भन्ने हल्ला फैलाइएको रहेछ। म स्पष्ट पार्न चाहन्छु : यो मेरो चाहना विपरीत हो। मेरो अनुरोध र हर सम्भव प्रयास विपरीतको निर्णय हो।’

महामन्त्री थापाले आफू र ससुरा आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिने बताउँदै यस पटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा मत भिन्नता रहेको दाबी गरेका छन् ।

उनले भने,‘मेरो र उहाँको आ-आफ्ना राजनीतिक दृष्टिकोण र निर्णयहरू हुन्छन्, कहिले मिल्छन्, कहिले बाझिन्छन्। जसरी कुनै बेला हाम्रो राजनीतिक दृष्टिकोण र प्राथमिकता मिलेन र एक अर्कासँग पार्टीको महामन्त्री पदका लागि फरक एजेन्डा र सङ्कल्पसहित चुनाव लड्यौँ। यस पटक पनि पार्टीका अग्रज नेताले समानुपातिक प्रणाली रोज्ने वा नरोज्ने विषयमा हाम्रो मत भिन्नता रह्यो।