उद्योग वाणिज्य महासंघले सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गर्दै

उद्योग वाणिज्य महासंघले सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गर्दै


काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बुधबार ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेन जेड) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ ।

संवाद मार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ ।

मुलुकको आर्थिक पुनरुत्थानका लागि शान्ति र स्थायित्व अपरिहार्य सर्त भएको उल्लेख गर्दै देश विकास र समृद्धिका लागि साझा धारणा तय हुन सकोस् भन्ने उद्देश्य सहित महासंघले सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गरेको महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिएका छन् ।

‘राजनीतिक स्थायित्व, स्पष्ट नीतिगत दिशा र विश्वासयोग्य वातावरणविना लगानी सम्भव हुँदैन,’ अध्यक्ष ढकालले भने, ‘यही कारण महासंघले सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएर संवाद र सहकार्यको वातावरण बनाउन यो पहल गरेको हो ।’

उनले निजी क्षेत्र मुलुकको समृद्धिको प्रमुख साझेदार भएको उल्लेख गर्दै युवापुस्ताको ऊर्जालाई उद्यम, नवप्रवर्तन र उत्पादनशील क्षेत्रमा जोड्न सकिए अर्थतन्त्रलाई नयाँ गति दिन सकिने बताएका छन् ।