काठमाडौँ । शितलहरका कारण निर्माणाधीन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।
विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शितलहरको कारणले निर्माणाधीन सडकमा समस्या देखिएको हो । सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकोले सवारी साधन सञ्चालनमा थप कठिनाई हुने सम्भावना रहेको आयोजनाले जनाएको छ ।
मौसममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ । सो सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा निम्न उल्लेखित वैकल्पिक सडकको प्रयोग गर्न सकिने आयोजनले स्पष्ट पारेको छ ।
पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट-मुग्लिङ-पोखरा-स्याङ्जा-पाल्पा हुँदै बुटवल जान सक्नेछन् । यस्तै, कालीगण्डकी चोक (गैँडाकोट) रामपुर पिपल डाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौँबाट बर्दघाट पश्चिम जानेर बुटवल-काठमाडौँ जाने सवारी साधनहरू काठमाडौँ-मुग्लिङ-पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।

प्रतिक्रिया