कांग्रेस समानुपातिकमा कोशीबाट सबैभन्दा धेरै

कांग्रेस समानुपातिकमा कोशीबाट सबैभन्दा धेरै


बिराटनगर। नेपाली कांग्रेसले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीमा सबैभन्दा धेरै कोशी प्रदेशबाट २२ जनाको नाम सिफारिस गरेको छ। १४ जिल्ला रहेको कोशी प्रदेशका भोजपुर, धनकुटा र खोटाङबाट समानुपातिक निर्वाचन प्रणालीमा कसैको नाम पनि बन्दसूचीमा राखिएको छैन।
कोशी प्रदेशबाट कांग्रेसले आदिवासी–जनजाति क्लष्टरमा कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्दम्बेलाई एक नम्वरमा राखेको छ। कोशीबाट सबैभन्दा धेरै सुनसरीबाट पाँच जना सविता राई, निर्मला गुरुङ, जमिल अख्तर मिया, चन्द्रेश्वर शर्मा खत्वे र नगमा शाहिदलाईव सिफारिस गरेको छ।
चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरी कांग्रेसको संस्थापन पक्षका नेता तथा पूर्वउपसभापति विजयकुमार गच्छदार, पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पार्टी प्रचार विभाग प्रमुख मिनबहादुर विश्वकर्माको गृह जिल्ला हो। त्यस्तै, पाँच वटा निर्वाचन क्षेत्र रहेको झापाबाट पाँच जना महिला मात्र समानुपातिकमा परेका छन् । गोमाकुमारी भट्टराई, सुशीला ढकाल आचार्य, मनुमाया विश्वकर्मा, उमा शिवाकोटी र राधा कार्की झापाबाट सिफारिस भएका हुन्।

झापा राष्ट्रिय सभामा कांग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र पार्टी महामन्त्री विश्वप्रकाश शर्माको गृह जिल्ला हो। यस्तै, कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाको गृह जिल्ला मोरङमा तीन जना समानुपातिकको बन्द सूचीमा परेका छन्। मोरङबाट गोपालमान सिंह राजभण्डारी, रुक्मिणी देवी कोइराला र डा. प्रमिला गच्छदारको नाम बन्दसूचीमा परेको छ।

काग्रेस नेता बलबहादुर केसीको गृह जिल्ला सोलुखुम्बुबाट गीता गुरुङ र रीना उप्रेती को नाम सिफारिस भएको छ। कांग्रेसले संखुवासभाबाट थलकुमार लिंखा, तेह्रथुमबाट विजय सोम्बाहाम्फे, ताप्लेजुङबाट गीताकुमारी सेन्दाङ, इलामबाट प्रेमिका राना मगर, ओखलढुंगाबाट गोमा केसी र उदयपुरबाट सत्यनारायण चौधरी बन्दसूचीमा परेका छन्।