म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो

म्याग्दीको मुनादेखि बागलुङको ढोरपाटन उपत्यकासम्म सवारी साधन पुग्यो


म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका हुँदै बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यका सडक सञ्जालमा जोडिएसँगै छोटो दुरीको सो सडकमा पहिलोपटक सवारीसाधन सञ्चालन समेत भएको छ ।

म्याग्दीको सदरमुकाम बेनीदेखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना-खोरीया– मरेनी – जलजला– गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका जोड्ने गत असार महिनामा ट्र्याक (मार्ग)खुलेको सडक प्रयोग गरेर धवलागिरी गाउँपालिकाको बा १ झ ७०७ नम्बरको गाडी पहिलो पटक शुक्रबार ढोरपाटन पुगेको हो ।

धवलागिरी गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्मा, योजना अधिकृत हरिहर पनेरु, पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावल र प्राविधिक जनक धानुककोको टोली मुनादेखि नयाँ सडक प्रयोग गरेर ढोरपाटन पुगेको हो ।

“बेनीदेखि ७५ किमीको दुरीमा ढोरपाटन पुग्न सकिने यो सडकलाई धवलागिरी गाउँपालिका मात्र नभएर पश्चिम म्याग्दीको समग्र पूर्वाधार विकास, आर्थिक सामाजिक क्षेत्रको रूपान्तरणका लागि महत्त्वपूर्ण आधारका रूपमा लिएका छौ,” उनले भने “बागलुङदेखि ढोरपाटन जोड्ने सडकको तुलनामा आधा भन्दा धेरै छोटो यो सडक पुर्वी रुकुमसँग जोडिएपछि मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प बन्न सक्छ ।”

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प र म्याग्दीको मङ्गला, मालिका र धवलागिरी गाउँपालिकाको ‘लाइफलाइन’ मानिएको बेनी–दरवाङ–मुना–जलजला– ढोरपाटन सडक काठमाडौँ र पोखराबाट बेनी हुँदै ढोरपाटन र पूर्वीरुकुम जोड्ने छोटो दुरीको सडक पनि हो ।

हाल प्रयोगमा आइरहेको बागलुङदेखि ढोरपाटन जोड्ने सडकको दुरी एक सय २६ किमी छ । गत आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु। पाँच करोड बजेटबाट सडक डिभिजन कार्यालय बागलुङले सञ्चालन गरेको योजना मार्फत म्याग्दीको धवलागिरी गाउँपालिका–२ मरेनीदेखि देखि ढोरपाटनको जलजला सम्म सडकको ट्र्याक खुलेको छ ।

मरेनीमाथिको जङ्गलदेखि जलजलातर्फ गत असारमा निर्माण भएको नौ किमी सडक हालै मर्मत गरेर सवारीसाधन सञ्चालन गर्ने बनाइएको हो । घुम्ती र ग्रेड सुधार गर्न बाँकी यो सडकमा पर्ने तीन हजार मिटर भन्दा बढी उचाइको जलजला क्षेत्रमा हिउँ नपरेको अवस्था जिप, ट्याक्टर र मोटरसाइकल सञ्चाल नगर्न सकिने उपाध्यक्ष पुनले बताए ।

मुनादेखि तल्लो जलजलाको दुरी १४ किमी छ । ढोरपाटनबाट जलजला जोड्ने १० किमी कच्ची सडक यसअघिनै जोडिएको थियो । मुना–जलजला–ढोरपाटन खण्डमा पर्ने खोलाहरूमा मोटरेबल पुल नभएकाले बर्खामा यातायात सञ्चालन गर्न समस्या छ ।

बेनीदेखि विसं २०५५ मा यो सडक निर्माण सुरु भएको थियो । बेनीदेखि मुना–खोरीया–मरेनी हुँदै जलजला करिब ६४ किमी सडकको मार्ग खुलेको हो । धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बेनीबाट दरवाङ–मुना–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको टकसेरा जोड्ने सडकको मार्ग खुलेमा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डभन्दा ७० किमी दूरी छोटिने जानकारी दिए ।

उनका अनुसार पूर्वीरुकुमको टकसेराबाट ढोरपाटनको निसिलढोरसम्म आठ किलोमिटर सडकले जोडिन बाँकी छ । जलजला, ढोरपाटन र उत्तरगंगा जाने पर्यटक तथा स्थानीयबासीहरुलाई यो सडक छोटो पर्छ ।

धवलागिरी–२ खोरियामा छ वर्षअघि पुगेको सडकलाई ढोरपाटनसँग जोड्न १९ किमीको विस्तृत परियोजना प्रतिवेदन बनाएर गाउँपालिकाले चार वर्षअघि सङ्घीय सरकारसँग योजना तथा बजेटको प्रस्ताव गरेको थियो ।

बेनी देखि तातोपानी–बाबियाचौर हुँदै तोलावाङसम्म २० किलोमिटर सडक प्रदेश सरकार मार्फत कालोपत्र भएको छ । प्रदेश सरकारले दरवाङदेखि ताकम मुना जोड्ने करिब १७ किलोमिटर सडक स्तरोन्नति गर्न दुई वटा शीर्षकमा योजना सञ्चालन गरेको प्रदेश सभा सदस्य रेशम बहादुर जुग्जाली (सुविन)ले बताए ।

मध्यपहाडी लोकमार्गको वैकल्पिक मार्ग र पूर्वी रुकुमसम्म जोडिने पश्चिम म्याग्दीको लाइफ लाइन मानिएको यो सडकको स्तरोन्नति र कालोपत्रका लागि बजेटको व्यवस्थापन र योजना कार्यान्वयनमा सरोकारवालाको चासो बढेको छ ।

पुर्वी रुकुम, म्याग्दी र बागलुङ जिल्लाको एक हजार तीन सय २५ बर्गमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन नेपालको एकमात्र शिकार आरक्ष हो । विश्वभरका शाहासी शिकारीहरुको गन्तव्य ढोरपाटन पछिल्लो समय नेपाली पर्यटकहरूको पनि रोजाइमा परेको छ ।

यो आरक्ष पर्यटनका लागि मात्र नभएर ढोरपाटनको जैविक, सांस्कृतिक, पर्यटकीय, धार्मिक लगायत धेरै अवसरहरू छन् ।