विशेष महाधिवेशन पक्षधरको भावनासँग सहमत छु :शेखर कोइराला

विशेष महाधिवेशन पक्षधरको भावनासँग सहमत छु :शेखर कोइराला

बहुमतको निर्णय मान्न बाध्य भएँ


काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र चर्को विवादको विषय बनेको विशेष महाधिवेशनको भावनासँग आफू सहमत रहे पनि केन्द्रीय कार्यसम्पादन समितिको बहुमतको निर्णयमा विद्रोह गरेर जान नसकिएको स्पष्ट पारेका छन् ।  शनिबार विशालनगरस्थित आफ्नो सम्पर्क कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला सभापतिसहितका नेता–कार्यकर्तासँग भएको छलफलमा नेता कोइरालाले यस्तो धारणा राखेका हुन् । छलफलमा सहभागी एक नेताका अनुसार कोइरालाले भने, “विशेष महाधिवेशनको भावनासँग म सहमत छु । हस्ताक्षरकर्ताहरूको भावनासँग मेरो भावना जोडिएको छ । तर, केन्द्रीय कार्यसम्पादन समितिमा बहुमतको जुन निर्णय छ, त्यसलाई मान्न बाध्य छौं । निर्णयमा विद्रोह गरेर जान सकिँदैन, बहुमतको निर्णय त मान्नैपर्छ ।”

कोइरालाले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर संकलन गरेका नेताहरूको भावना सम्बोधन गर्न आफूले केन्द्रीय कार्यसमितिलाई ‘कन्भिन्स’ गर्ने प्रयास गरेको तर सफल हुन नसकेको पनि बताए । “मैले कार्यसमितिलाई कन्भिन्स गर्ने प्रयास गरेँ, मेरो प्रयास सफल भएन,” उनको भनाइ उद्धृत गर्दै ती नेताले भने ।

केही दिनअघि शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बहुमतबाट १५औं महाधिवेशनको नयाँ कार्यतालिका पारित गरेको थियो । उक्त निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन जना नेताले फरक मत राखेका थिए । बैठकपछि महामन्त्री थापाले यदि केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन नबोलाए पुस मसान्तभित्रै आफूहरूले डाक्ने उद्घोष गरेका थिए । संस्थापन पक्ष विशेष महाधिवेशनको विपक्षमा उभिएको छ भने कोइरालाले यसअघि पुसभित्र नियमित महाधिवेशन नभए केन्द्रीय कार्यसमितिबाटै विशेष महाधिवेशन बोलाउनुपर्ने अडान राख्दै आएका थिए ।

शनिबारको छलफलमा कोइरालाले पार्टीभित्रको पछिल्लो विवाद समाधानका लागि आफूले संवाद सुरु गरेको पनि बताए । “सोलुसन दिनका लागि संवाद मैले सुरु गरेँ,” उनले भने । छलफलमा सहभागी केन्द्रीय सदस्य डा। गोविन्दराज पोखरेलका अनुसार आइतबार पनि विशेष महाधिवेशन पक्षधर नेताहरूसँग छलफल गर्ने कोइरालाको योजना छ ।शनिबारको छलफलमा हस्ताक्षर अभियानमा संलग्न देवराज चालिसे, उज्वल बराल, दिक्पालबहादुर शाही, कालिबहादुर सहकारीलगायत सहभागी थिए । अभियानमा संलग्न नेताहरूले कोइरालालाई विशेष महाधिवेशनको अपनत्व लिन र शीर्ष नेतृत्व तथा महामन्त्रीहरूबीच सहमतिका लागि पहल गर्न आग्रह गरेका थिए । “विशेष महाधिवेशन तपाईंको पक्षमा थियो, अपनत्व लिनुपर्छ र सबैलाई मिलाउने पहल गर्नुस्,” उनीहरूको आग्रह थियो भन्ने नेता शाहीले जानकारी दिए ।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले अहिलको विषम परिस्थितिको निकास, मुलुकको संकट समाधान र पार्टीभित्रको द्वन्द्वको सुरक्षित अवतरणबारे छलफल भएको बताए । केन्द्रीय कार्यसम्पादन समितिको निर्णय र विशेष महाधिवेशनको मागबीच समन्वय कसरी गर्ने भन्नेमा पनि छलफल केन्द्रित भएको उनले उल्लेख गरे ।छलफलमा सहभागी दोलखा सभापति बर्मा लामाले कोइरालाले दुवै पक्षलाई ‘प्याचअप’ गर्नुपर्ने धारणा राखेको र राय–सुझाव लिएको बताए । “दुवै पक्षलाई मिलाउनुपर्छ भन्ने कुरा भयो,” उनले भने ।  कांग्रेसभित्र नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि विशेष महाधिवेशनको माग चर्किएको छ । महामन्त्रीद्वय थापा–शर्माले पुस मसान्तभित्र विशेष महाधिवेशन गर्ने अडान राखेका छन् भने संस्थापन पक्षले नयाँ कार्यतालिका पारित गरी विवाद समाधानको प्रयास गरेको छ ।