म्याग्दी । मंगला गाउँपालिका–२ तारा खेतका बालबालिकाले देउसी भैलो खेलेर जुटाएको रकम परिचालन गरेर सडक बत्ती जडान गरेका छन् । तारा खेतमा पर्ने बेनी–दरवाङ सडक, पदमार्ग र मंगला गाउँपालिका–३ सातबिसेको सिमकुना जोड्ने झोलुङ्गे पुलमा शनिबारदेखि सडक बत्ती बालेर रातको समयमा उज्यालो बनाउन थालेका हुन् ।
तिहारमा देउसी भैलो खेलेर जुटाएको रु. ३५ हजारसहित रु. ७० हजारको लागतमा १५ वटा सडक बत्ती जडान गरेर तारा खेतलाई झिलिमिली बनाएको स्थानीय युवा अर्जुन पौडेलले बताए ।
“देउसी भैलो खेलेर जुटाएको रकम बचाएर सामाजिक काममा लगाएका हौँ”, उनले भने, “स्थानीय अगुवा र अभिभावकहरूले पनि साथ दिएपछि तारा खेतलाई सुरक्षित बनाउनका लागि सडक बत्ती बाल्ने हाम्रो योजना सफल भएको हो ।”
सडक बत्तीका कारण रातको समयमा उज्यालो भएपछि दुर्घटना, चोरी, चितुवालगायत वन्यजन्तुको गतिविधि नियन्त्रणमा सहयोग पुग्नुका साथै स्थानीय वासीलाई हिँडडुल गर्न सहज भएको छ । सुरक्षित महसुस गर्न थालेका छन् ।
सडक बत्ती उपभोक्ता समितिका अध्यक्ष गोकर्ण पौडेलले उपभोक्ताबाट थप रु. ३५ हजार जुटाएर योजना सम्पन्न गरिएको जानकारी दिँदै मासिक रूपमा रकम संकलन गरेर सडक बत्तीको महसुल तिर्ने बताए। सडक बत्तीको तारा खेतका बासिन्दा ९६ वर्षीया सन्तकुमारी भट्टचनले शनिवार उद्घाटन गरे । स्थानीय विनोद भट्टचनले तारा खेतका युवायुवती र बालबालिकाले सानो तर रचनात्मक तथा सन्देशमूलक काम गरेका बताए ।
अर्को चरणमा फोहर व्यवस्थापन र सरसफाइका लागि तारा खेतको सार्वजनिक स्थानमा फोहर संकलन गर्ने तथा सिसीटिभी क्यामेरा जडान गर्ने योजना रहेको स्थानीय छमलाल पौडेलले बताए । धवलागिरि, मालिका र मङ्गला गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडकमा पर्ने तारा खेतमा १७ घरपरिवारको बसोबास छ ।

प्रतिक्रिया