घोडाघोडी सिमसारमा जलपक्षी गणना सुरु : संख्या घट्दै गएको चिन्ता

घोडाघोडी सिमसारमा जलपक्षी गणना सुरु : संख्या घट्दै गएको चिन्ता


कैलाली । हरेक बर्ष जस्तै नेपालको पहिलो वर्ड सेन्चुरी घोडाघोडी सिमसारमा जलपन्क्षीहरुको गणना कार्य आजदेखी सुरु भएको छ । हरेक बर्ष जनवरि ३ गते देखि एसियाका विभिन्न ताल ,सिमसार तथा रामसार क्षेत्रहरुमा आश्रीत रैथाने तथा आगन्तुक जलपन्क्षिको अवस्था , बिचरण ,संख्याको अभिलेखकरण हरेक बर्ष जस्तै यस बर्ष पनि एसियन बर्ड सेन्सेस सन्चालन भएको हो । जैविक विविधताले निकै नै महत्त्वपूर्ण क्षेत्र मानिने घोडाघोडीमा चरा संरक्षण नेटवर्क कैलालीको टोली आजबाट गणना कार्यमा खटिएको छ । २१ गते सम्म घोडाघोडीमा जलपंक्षी गणना हुनेछ । चरा संरक्षण नेटवर्क कैलालीले विगत लामो समयदेखि घोडाघोडी ताल क्षेत्रमा चराको अध्ययन, अवलोकन, खोज तथा अनुसन्धान गर्दै आइरहेको छ ।

घोडाघोडीमा ६ र ६ महिना गरी प्रत्येक वर्ष दुई पटक जलपन्क्षी गणना गरिन्छ । सोही अनुरूप यस पटक पनि जलपंक्षी गणना सुरु गरिएको चरा संरक्षण नेटवर्क कैलालीका उपाध्यक्ष नवराज न्यूरेले जानकारी दिए । न्यूरेका अनुसार गणनाले उनीहरूको अवस्था र चुनौती पत्ता लगाई स्थानीय समुदाय र सरोकारवाला निकायलाई संरक्षणमा सहभागी गराउन महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ ।

चरा संरक्षण नेटवर्क कैलालीका सचिव राम कुमार चौधरी ले यहाँ जलपंक्षीको सङ्ख्या घट्दै गएको जानकारी दिए । घोडाघोडी ताललाइ तीन ब्लकमा बिभाजन गरि राम कुमार चौधरी , जमुना न्युरे ,शिव चौधरी ले नेतृत्वमा जलपन्क्षी गणन टोलि खटिएको छ ।

गणनाको उद्घाटन गर्दै घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले घोडाघोडीमा जलपंक्षीको सङ्ख्या घट्दै जानुको कारण चोरी सिकारी नियन्त्रण गर्न नसक्नु रहेको बताउदै । उनले भने घोडाघोडीमा रहेका जलचर ,थलचर र जीवजन्तुहरूको संरक्षणका लागि संरक्षणकर्मी मात्र नभएर समुदायलाई पनि जोड्नुपर्नेमा जोड दिए । डिभिजन वन कार्यालय पहलमानपुरका प्रमुख जनक पाध्यायले सिमसार क्षेत्र घोडाघोडी प्राकृतिक सम्पत्ति रहेकाले यसलाई सबै मिलेर जोगाउनुपर्ने बताउदै भने , घोडाघोडी क्षेत्र जैविक विविधताले भरिएको क्षेत्र हो, चराहरूको वासस्थानलाई पनि बचाउँदै जैविक विविधतालाई संरक्षण गर्दै यहाँ संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ ।
चराहरूको संरक्षणका लागि उनीहरूको बास स्थान जोगाउनुपर्ने घोडाघोडी नगरपालिकाका प्रवक्ता घनश्याम ओझाले बताए । वर्ड सेन्चुरी घोषणामा मात्रै सीमित नराखी त्यसलाई सबै मिलेर संरक्षण गर्नुपर्ने उनको भनाइ थियो ।

नेपालमै सबैभन्दा धेरै ताल तलैया भएको जिल्लाका रूपमा कैलाली चिनिन्छ । त्यसमध्ये घोडाघोडी ताल नेपालको तराई क्षेत्रमा रहेको सबैभन्दा ठुलो प्राकृतिक ताल हो । घोडाघोडी ताल क्षेत्रमा घोडाघोडीसहित २४ वटा ताल छन् । जसमध्ये घोडाघोडी र नकरोड ताल चराको वासस्थानका लागि सबैभन्दा उपयुक्त रहेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरी बताए । यहाँ ११ ओटा सामुदायिक वनहरु जोडिएका छन् । घोडाघोडीमा पछिल्लो समय जलपंक्षीको सङ्ख्या घट्दै गएको छ ।  अध्यक्ष चौधरीले जानकारी दिए , पहिले २ हजार २२ सयको हाराहारी जलपंक्षी भेटिन्थे तर अहिले ११ सयको हाराहारीमा भेटिन्छन् ।अघिल्लो वर्ष ११ सय जलपंक्षी गणना भएको बताउँदै उनले भने , हिउँद भन्दा वर्षामा अझै थोरै भेटिन्छन् । वर्षामा जताततै पानी भएकाले पनि जलपंक्षी अन्यत्र जान्छन् ।
“घोडाघोडीको सूचक प्रजातिको रूपमा रहेको हरिहाँसको सङ्ख्यासमेत घट्दै गएको छ । बच्चा कोरल्ने र हुक्राउनका लागि सुरक्षित स्थान मानिएको घोडाघोडीमा हरिहाँसको वासस्थान असुरक्षित बन्दै, आहारा घट्दै गएपछि यसको सङ्ख्या घट्दै गएको छ,” अध्यक्ष चौधरीले बताए ।   घोडाघोडी क्षेत्र रैथाने र आगन्तुक चराको महत्त्वपूर्ण वासस्थान भएकाले २०७८ फागुन २७ मा सुदूरपश्चिम प्रदेश सरकारले नेपालकै पहिलो चरा अभय आरण्य क्षेत्र घोषणा गरेको थियो । यहाँ तीन सय ८१ प्रजातिका चरा पाइन्छन् ।