चितवन। चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनघाटस्थित त्रिशूली नदीमा नुहाउने क्रममा सुपर त्रिशूली हाइड्रोपावरमा कार्यरत दुईजना कामदार शनिबार दिउँसोदेखि बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका–२ बनसरा बस्ने २१ वर्षीय शंकर चौधरी र राजापुर नगरपालिका घर भएका २२ वर्षीय सौरभ थारु रहेका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
शनिबार दिउँसो कुरिनघाटको झोलुङ्गे पुल नजिकै नदीमा नुहाउने क्रममा उनीहरू बेपत्ता भएका हुन्। नदी किनारमा कपडा, मोबाइल, चप्पल र लाइटर भेटिएपछि प्रहरीलाई जानकारी भएको थियो। हिजो साँझसम्म खोजी गर्दा फेला नपरेपछि आज बिहानैदेखि खोजी कार्यलाई तीव्रता दिइएको चितवन प्रहरीका प्रवक्ताले बताए। बेपत्ता युवकहरूको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनघाटबाट गोताखोरसहितको टोली परिचालन गरिएको छ। गोताखोर टोलीले अहिले नदीमा गहिराइसम्म खोजी गरिरहेको प्रहरीले जनाएको छ।
त्रिशूली नदीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको बताइएको छ। त्रिशूली नदी क्षेत्रमा हाइड्रोपावर आयोजनाहरू सञ्चालन भइरहेका र कामदारहरूको आवतजावत बढी हुने भएकाले यस्ता दुर्घटना बढ्ने जोखिम रहेको स्थानीयले बताएका छन्। प्रहरीले थप जानकारी आएमा सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया