काठमाडौ । नेपाली कांग्रेसभित्र नियमित महाधिवेशनको मिति सार्ने निर्णयपछि उत्पन्न विवाद समाधानका लागि पदाधिकारी बैठक आज दिउँसो २ बजे बोलाइएको छ। सहमहामन्त्री महेन्द्र यादवले पार्टी केन्द्रीय कार्यालयमा बैठक आह्वान भएको जानकारी दिएका हुन्।
शुक्रबार बसेको कार्यसम्पादन समिति बैठकले पुस २६–२८ गते तोकिएको १५औँ महाधिवेशनको कार्यतालिका पूरा नहुने देखेर वैशाख २८–३१ गते काठमाडौंमा महाधिवेशन गर्ने बहुमत निर्णय गरेको थियो। यो निर्णयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर तथा कार्यसम्पादन समिति सदस्यद्वय अर्जुननरसिंह केसी र उमा रेग्मीले फरक मत राखेका थिए।
महामन्त्री गगन थापाले कार्यसम्पादन समिति बैठकपछि पुस मसान्तभित्र विशेष महाधिवेशन गरेरै छोड्ने घोषणा गरेका छन्। गत असोज २९ गते २४ सय ८८ जना महाधिवेशन प्रतिनिधिले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए। कांग्रेस विधानको धारा १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको माग आएको ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने प्रावधान छ।
महामन्त्रीद्वय थापा र शर्माले विधानको यो व्यवस्थालाई आधार बनाउँदै विशेष महाधिवेशनको पक्षमा अडान लिइरहेका छन्। उनीहरूले नियमित महाधिवेशन स्थगित भएको घोषणा गर्दै विशेष महाधिवेशनको तयारी थालेका छन्। यता, संस्थापन पक्षले मंसिर १५ गते नियमित महाधिवेशनको मिति तोकिएपछि विशेष महाधिवेशनको हस्ताक्षर निष्क्रिय भएको तर्क गर्दै आएको छ। विवाद उत्कर्षमा पुगेसँगै पार्टीभित्र संस्थापन र महामन्त्रीद्वयबीच टकराव बढेको छ।

प्रतिक्रिया