एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि

एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि


गण्डकी। प्रगतिशील लेखक सङ्घ गण्डकी प्रदेशले शनिबार आठ जिल्लाका आठ कविलाई एकै मञ्चमा उभ्यायो । पोखरामा आयोजित प्रदेशस्तरीय कवि गोष्ठीमा कास्कीका गीता तिवारी, बागलुङका लाल ऋतम्भरा, लमजुङका वासुदेव थापा, तनहुँका युवराज पौडेल, गोरखाका रामप्रसाद खनाल, स्याङ्जाका अनन्त अर्याल, म्याग्दीका प्रकाश अधिकारी र पर्वतका राजकुमार निरञ्जन सुनिए ।

कविहरूले विभिन्न विषय र मुद्दामा प्रगतिशील धारका कविता प्रस्तुत गरे । गोष्ठीमा वाचित कविताले गण्डकी प्रदेशमा प्रगतिशील कविताको भविष्य बलियो रहेको सन्देश दिएको साहित्यकार नारायण मरासिनीले बताउनुभयो । कविताले नेपाली समाजको प्रतिनिधित्वमात्र नभई वर्तमानमा देखिएको परिवर्तनको आकाङ्क्षालाई पनि मुखरित गरेको उहाँको भनाइ छ ।

प्रलेस गण्डकीका सल्लाहकार रघुनाथ अधिकारीले कविताले मानवीय जीवनलाई छुनुपर्नेमा जोड दिनुभयो । प्रगतिशील कविताले यथास्थितिका विरुद्ध बुलन्द आवाज उठाउनुपर्ने भन्दै उहाँले गण्डकी प्रदेशका नवपुस्ताका कविहरूको प्रस्तुति आशालाग्दो देखिएको बताउनुभयो । प्रगतिशील लेखक सङ्घका केन्द्रीय सदस्य भीम रानाभाटले साहित्य स्वान्त सुखायका लागि मात्र नभई समाजप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

आफूले के लेख्दैछु, किन र कसका लागि लेख्दैछु भन्ने कुरामा सचेत भएर लेखनमा लाग्नुपर्ने उहाँको भनाइ छ । गायिका तथा साहित्यकार हरिदेवी कोइरालाले गण्डकी प्रदेशका कविका प्रगतिशील कविता एकसाथ सुन्न पाउँदा खुसी लागेको बताउनुभयो । प्रगतिशील कविताको जगेर्ना र उत्थानमा टेवा पुर्याउन प्रदेशस्तरीय कवि गोष्ठीको आयोजना गरिएको प्रलेस गण्डकीका अध्यक्ष प्रा डा यदुनन्दन उपाध्यायले बताउनुभयो ।