काठमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मिलेर अगाडि बढ्न सकिने बताएका छन् ।
आइतबार नेपाली कम्युनिष्ट पार्टी धनकुटाले आयोजना गरेको पत्रकारहरूसँगको भेटघाट कार्यक्रममा बोल्दै सहसंयोजक नेपालले यस्तो बताएका हुन् ।
उनले गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपश्चात् पछिल्लो राजनैतिक घटनाक्रमले आगामी चुनावमा चुनौती रहेकाले प्रस्ताव आए ठुला दलसँग मिलेर अगाडि बढ्न तयार रहेको बताएका छन् । त्यसका लागि निर्णायक दुई ठुला दलको भूमिका रहेको बताउँदै उनले त्यसका लागि आफू तयार रहेको धारण व्यक्त गरे। तर एउटा जता ढल्यो त्यतै जानेभन्दा पनि सबैलाई सहज ढंगले एकबद्धता भएर अगाडि लिएर बढ्दा उचित हुने उनको भनाइ छ ।
अरूका भरमा सत्यतथ्य नबुझी हाहा र हुहुको भरमा अगाडि जान खोज्नुभन्दा बुझेर राजनीतिमा पाइला चाल्नु उचित रहेको बताउँदै आफ्नो पार्टी एकतामा लागेको उनको भनाइ छ ।
यस्तै, गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको माग जायज थिए, तर घुसपैठका कारण देशको स्थिति भयानक भएको उनले बताए ।
उनले संसद् पुन:स्थापना अदालतबाट आदेश फैसला र विशेष परिस्थितिमा हुने बताउँदै चुनावको विकल्प नरहेको बताए । गणतन्त्र, संघीयताको रक्षा गर्न चुनाव तोकिएकै मितिमा हुनुपर्ने दाबी गरेका छन् ।
पूर्वमन्त्री तथा पार्टीका सह-संयोजक नेपाल पार्टी एकता सभालाई सम्बोधन गर्न सङ्खुवासभा हुँदै शनिबार धनकुटा पुगेका थिए । उनी आइतबार इटहरीमा हुने एकता सभाको सम्बोधन सकेर काठमाडौँ फर्किने कार्यक्रम रहेको पार्टीले जनाएको छ ।

प्रतिक्रिया