मधेशभर सुरक्षा सतर्कता बढाइयो

मधेशभर सुरक्षा सतर्कता बढाइयो


काठमाडौँ। टिकटकमा एक अर्काको धर्मसंस्कृतिलाई लक्षित गरी अभद्र टिप्पणी गरेको विषयलाई लिएर मधेश प्रदेशमा तनाव बढेको छ । धनुषा घटनाको असर पर्साको वीरगञ्जसम्म देखिएको छ । धनुषा र पर्सासहित मधेशका आठैवटा जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ ।

केही दिन अगाडि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम लिँदै एक भिडियो पोष्ट गरेका थिए । धार्मिक सहिष्णुतामा खलल पुग्ने खालको भिडियो बनाइएको भन्दै ती दुई युवालाई स्थानीय अगुवाहरूले प्रहरीको जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय खजुरीमा दुवै पक्षबीच छलफल भइरहेको बेला पक्राउ गरिएको भन्दै केही युवाहरू आक्रोशमा आए । त्यही बेला मस्जिदमा आक्रमण समेत भएको थियो । आक्रमणमा संलग्न व्यक्तिलाई पनि पक्राउ गरिएको धनुषा प्रहरीले बताएको छ । सोही घटनालाई लिएर वीरगञ्जमा आज बिहानैदेखि प्रदर्शन भइरहेको छ ।