त्रिशूली नदीमा बेपत्ता भएका दुई युवकको खोजी कार्य जारी

त्रिशूली नदीमा बेपत्ता भएका दुई युवकको खोजी कार्य जारी


काठमाडौँ । गोरखा र चितवनको सिमानमा रहेको इच्छाकामना गाउँपालिका-४ स्थित कुरिनघाट क्षेत्रमा शनिबार बेलुका त्रिशूली नदीमा नुहाउने क्रममा दुई जना युवक बेपत्ता भएका छन् । त्रिशूली नदीको झोलुंगे पुल नजिकै नदीमा पस्दा अचानक बगाएर बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा बर्दियाको गेरुवा गाउँपालिका-२ बनसारा निवासी २१ वर्षीय शंकर चौधरी र राजापुर नगरपालिकाका २२ वर्षीय सौरभ थारु छन् । दुवै जना गोरखाको गण्डकी गाउँपालिका-१ बुट्टारस्थित त्रिशूली हाइड्रोपावर आयोजनामा कार्यरत मजदुर भएको प्रहरीले जनाएको छ ।

उनीहरू दुवै जना सिइ कन्ट्रक्सन प्रालिमार्फत कामका लागि उक्त आयोजनमा आएको पाइएको छ । घटनापछि खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनघाटबाट गोताखोरसहितको विशेष टोली परिचालन गरिएको थियो ।

शनिबार बेलुका नै नदी आसपासका क्षेत्रमा खोजी गरिए पनि उनीहरूको कुनै अत्तोपत्तो नलागेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । त्रिशूली नदीको बहाब तीव्र भएकाले खोजी कार्य आइतबार बिहानबाट पनि थप जनशक्ति र उपकरणसहित खोजी कार्यलाई निरन्तरता दिइने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले नदीमा नुहाउँदा सतर्कता अपनाउन र जोखिमपूर्ण क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ । घटनाले स्थानीयवासी तथा आयोजनामा कार्यरत मजदुरलाई स्तब्ध बनाएको छ ।