खड्काले देउवा निवासको सहमति उल्टाएपछि संस्थापनभित्र खैलाबैला

खड्काले देउवा निवासको सहमति उल्टाएपछि संस्थापनभित्र खैलाबैला

देउवालाई सिटौलाको प्रश्न - खड्का महामन्त्री थापा-शर्माको प्रभावमा हो ?


काठमाडौं। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णंबहादुर खड्काले संस्थापन पक्षमा भएको सल्लाह र सहमति विपरित कार्य गरेको भन्दै असन्तुष्टि बढेको छ।   पार्टी सभापति शेरबहादुर देउवा निवासमा पुस १७ गते विहीबार र १८ गते शुक्रबार संस्थापन पक्षको सल्लाह र सहमति विपरित कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी कार्यसम्पादन समितिको बैठकमा महाधिवेशनको कार्यतालिका परिवर्तनसम्वन्धी प्रस्ताव ल्याएपछि संस्थापन पक्षभित्र बिबाद चर्किएको हो।
देउवा निवास महाराजगञ्जमा भएको सहमति विपरित काबा सभापति खड्काले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई समेत राहत हुने गरी उनीहरुको दबाबमा घोषणा गरिएको पुस २६–२८मा महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने प्रस्ताव पेश गरेको भन्दै संस्थापन पक्षका नेताहरुले खड्का माथि आपत्ति जनाएका हुन्।   गत मंसिर १५ गते भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा कार्यवाहक सभापति खड्काले पेश गरेको प्रस्तावमाथि पार्टीका पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला लगायतका नेताहरुद्वारा पुस भित्र नियमित महाधिवेशन सम्भव नहुने भनी नोट अझ डिसेन्ट लेख्नेसम्मको चेतावनी दिएका थिए।

निधि र सिटौलाले सम्पन्न गर्न नसकिने गरी ल्याइएको महाधिवेशनको कार्यतालिकाप्रति आफूहरुको असहमति रहेको भनेर तर्क प्रस्तुत गर्दा कावा सभापति खड्काले देउवाकै उपस्थितिमा पुस भित्र नियमित महाधिवशेनको मिति घोषणा नगरे महामन्त्रीद्वय थापा र शर्माले ‘नोट अफ डिसेन्ट’ लेख्ने भएकाले ‘सम्भव नहुने भए पनि’ महाधिवेशन घोषणा गरेर पछि कार्यतालिका परिवर्तन गर्ने विश्वास दिलाएका थिए।
त्यसै बेला निधि र सिटौलाले काबा सभापति खड्काको भूमिका संस्थापन पक्षको सल्लाह र सहमति विपरित महामन्त्रीद्वय थापा र शर्माको एजेण्डामा चलेको आरोप लगाएका थिए। तर सभापति देउवाले तत्कालका लागि विवादलाई टार्न सकिने अवस्था भएकाले स्वीकार्न आग्रह गरेका थिए। पूर्वनिर्धारित कार्यतालिका अनुसार पुस २६–२८ मा गर्ने भनिएको १५औं महाधिवेशनको कार्यतालिका अनुसार पुस १६ गते कुनै पनि गाउँ–नगर वडा अधिवेशन नभएपछि महामन्त्रीद्वयले पुस १७ गते विज्ञप्तिमार्फत पुस २७ र २८का लागि विशेष महाधिवशेनको घोषणा गरेका थिए।

महामन्त्रीद्वयले पार्टी विभाजन गर्ने उद्देश्य र पार्टीको नियमित महाधिवेशन हुन नदिन विशेष महाधिवेशनको घोषणा गरिएको भन्दै १६ गते नंै संस्थापन पक्षका नेताहरुले सभापति देउवासमक्ष गुनासो गरेपछि पुस १७ गते खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका थिए। कार्यसम्पादन समितिको बैठक हुनुअघि सभपाति देउवा निवासमा भएको छलफलमा संस्थापन पक्षका नेताहरुले क्रियाशिल सदस्यता नविकरण र नयाँ सदस्यता वितरण कार्य सम्पन्न नगरी, सदस्यताको व्यवस्थापनको समेत जिम्मेवारी लिएका महामन्त्रीद्वयको कमजोरीका कारण कार्यतालिका बमोजिम अधिवेशन हुन नसकेको भनी निष्कर्ष निकालेका थिए।
सोही निष्कर्ष बमोजिम आफ्नो जिम्मेवारीमा रहेको क्रियाशिल सदस्यता व्यस्थापनको जिम्मेवारी महामन्त्रीहरुले पुरा नगर्दा पूर्वनिर्धारित कार्यतालिका बमोजिम कुनै कार्य नभएकाले सबै तहको अधिवेशन र महाधिवेशनका कार्यतालिका पछि सार्ने निर्णय कार्यसम्पादन समितिबाट गर्ने सहमति भएको थियो।
तर, कार्यवाहक सभापति खड्काले महाराजगञ्जबाट पार्टी मुख्यालय सानेपा नपुग्दै देउवा निवासमा संस्थापन पक्षमा भएको सहमति उल्टाई दिएको चर्चा संस्थापन पक्षमा हुन थालेको छ। काबा सभापति खड्काले महाधिवेशन सार्ने निर्णयका लागि गरिएको प्रस्तावमा किन सबै तहका अधिवेशन र महाधिवेशनको मिति पछि सारियो भन्ने खास कारण उल्लेख गरेका छैनन्।
कार्यसम्पादन समितिले गरेको निर्णयमा पार्टी क्रियाशिल सदस्यता केन्द्रीय कार्यालयसम्म पेश नभएको अवस्था, पार्टी, भ्रातृ. तथा शुभेच्छुक संघ –संस्थाका नेता कार्यकर्ता २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा लाग्नु पर्ने र समानुपातिकतर्फको बन्दसूची पेश भएको अवस्थामा कार्यतालिका सार्नु परेको भनी तीन कारण उल्लेख गरिएको छ।
खड्काले संस्थापन पक्षको सहमति विपरित कार्यसम्पादन समितिमा प्रस्ताव गरी निर्णय गरेपछि सभापति देउवा समक्ष नेता सिटौलाले गुनासो गरेका थिए।
स्रोतका अनुसार शनिबार देउवासँगको भेटमा सिटौलाले संस्थापन समुहमा भएको सहमति कार्यवाहक सभापति खड्काले उल्टाएको र यसले संस्थापन पक्षमा विश्वासको अभाव देखिएकाले आफूहरुको टिम र पार्टीलाई ठूलो क्षति पुगेको बताएका थिए। उनले काबा सभापति खड्का तपार्ईंको विश्वासमा नरहको र महामन्त्रीद्वयको सल्लाह र ‘फेवर’मा काम गरिरहेको भन्दै गु्नासो गरेका थिए।
सिटौलाको असन्तुष्टि सुनेका सभापति देउवाले आइतबार दिउँसो आफू निकटका कांग्रेस पदाधिकारी र नेताहरुसँग छलफल गरेका छन्। सो छलफलमा नेताहरु निधि, सिटौला, प्रकाशशरण महत र रमेश लेखक लगायत नेताहरु थिए। शुक्रबार देउवा निवासमा निधि, सिटौला, महत, लेखक लगायतले खड्काको भूमिका शंकास्पद रहेको भनी टिप्पणी गरे पनि देउवाले अहिलेलाई पर्खन भनेका थिए। उनीहरुले समानुपातिक उम्मेदवारको छनोटमा समेत खड्काले संस्थापन पक्षलाई धोखा दिएको भनी देउवासमक्ष गुनासो गरेका थिए।
उनीहरुले विशेष महाधिवेशन गरी पार्टीमा विग्रह ल्याउन चाहने महामन्त्री थापा र शर्माको विश्वास नगर्न र उनीहरुसँग छलफल समेत नगर्न सुझाएका थिए।