काठमाडौँ । सशस्त्र प्रहरीले कञ्चनपुरको गड्डाचौकीबाट पूर्व-पश्चिम झण्डा मार्च सुरु गरेको छ । सशस्त्र प्रहरीको २५औँ स्थापना दिवस एवं रजत महोत्सवको अवसर पारेर सशस्त्र प्रहरीले नेपालको पश्चिम सीमा नाका समेत रहेका गड्डाचौकीबाट आइतबार पूर्व-पश्चिम झण्डा मार्चको शुभारम्भ गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक प्रदीपकुमार पालले गड्डाचौकीबाट पूर्व-पश्चिम झण्डा मार्चको सुरु गरेका हुन् । झण्डा मार्चमा सहभागी हुने सशस्त्र प्रहरीलाई राष्ट्रिय र संगठनको झण्डासहित पालले बिदाइ गरेका थिए ।
पालले सशस्त्र प्रहरी बलको स्थापना भएको २५ वर्षलाई ऐतिहासिक अवसरलाई स्मरणीय बनाउने र राष्ट्रव्यापी सन्देश प्रवाह गर्ने उद्देश्यले पूर्व-पश्चिम झण्डा मार्च गरिन लागेको बताएका छन् । झण्डा मार्चले सशस्त्र प्रहरीको इतिहास, योगदान र सीमा सुरक्षाको भूमिका पनि झल्काउने विश्वास उनको छ ।
मार्चमा ३५ जनाको टोलीले पैदल यात्रा गर्नेछ । गड्डाचौकीबाट सुरु भएको झण्डा मार्च सीमा क्षेत्र हुँदै १९औँ दिनमा नवलपुर पुग्नेछ । झापाबाट समेत आजैदेखि झण्डा मार्च सुरु भएको छ । पश्चिम र पूर्वबाट झण्डा मार्च गरेको सशस्त्रको टोलीले १९औँ दिनमा नवलपुरमा भेट गर्नेछ । नवलपुरमै विशेष समारोहको आयोजना गर्दै सशस्त्र प्रहरीले रजत महोत्सव मनाउने जनाएको छ ।

प्रतिक्रिया