रेसुंगा विमानस्थलबाट नियमित उडान सुरु

रेसुंगा विमानस्थलबाट नियमित उडान सुरु


काठमाडौँ। गुल्मीको रेसुंगा विमानस्थलबाट नियमित उडान सुरु भएको छ । पछिल्लो समय हप्ताको चार दिन तालिका अनुसार नियमित हवाई उडान हुँदै आएको रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिएका छन् ।

यस विमानस्थलबाट हप्तामा चार दिन आइतबार, मंगलबार, बिहीबार र शनिबार नेपाल एअरलाइन्सको जहाजमार्फत नियमित उडान भइरहेको हो।

लामो समयसम्म उडान अनियमित हुँदा समस्या भोग्दै नागरिकले समस्या भोगेका थिए। पछिल्लो केही दिन यता उडानहरू अधिकांश तालिकाअनुसार भएको हुँदा हवाई यात्रामा उल्लेखनीय सहजता ल्याएको छ। मौसम प्रतिकूलताका कारण विभिन्न समयमा यस विमानस्थलबाट उडान प्रभावित हुने गरेको थियो। यहाँका यात्रुको चापलाई ध्यानमा राख्दै हप्ताको चार पटक उडान हुने व्यवस्था मिलाइएको थियो।

स्टेशन प्रमुख थापाका अनुसार रेसुङ्गा विमानस्थलका लागि काठमाडौँबाट बिहान ६:३० बजे र यहाँबाट काठमाडौँका लागि बिहान ७:४५ बजे उडान हुने नियमित तालिका छ। गुल्मीलाई सिधै काठमाडौँसँग जोड्ने हवाई यातायातको रूपमा छ। हवाई यातायातसँग जोडिएसँगै पर्यटकहरू घुम्नका लागि गुल्मीमा आउने गरेका छन् । रेसुङ्गा विमानस्थलदेखि काठमाडौँका लागि सात हजार ३०० रुपियाँ र काठमाडौँदेखि रेसुङ्गा विमानस्थलका लागि सात हजार ५०० रुपियाँ भाडा कायम गरिएको छ।