रुपन्देही । बहुविवाहको अभियोगमा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० मधु नेपाल पुर्पक्षका लागि कारागार चलान भएका छन्। रुपन्देही जिल्ला अदालतका न्यायाधीश चाणक्यमणि अर्यालको इजलासले डिएसपी नेपाललाई थुनामा राख्ने आदेश दिएको हो। यसै मुद्दामा पक्राउ परेकी प्रहरी सहायक निरीक्षक (असई)गीता पुरीलाई भने अदालतले ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको छ। बहुविवाहसम्बन्धी उजुरी परेपछि डिएसपी नेपाल र असई पुरीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उनीहरू दुवैजना मंसिरको तेस्रो साता रुपन्देही प्रहरीसमक्ष आत्मसमार्पण गरेका थिए।
डिएसपी नेपाल पूर्वी नवलपरासी जिल्ला प्रहरी कार्यालयमा कार्यरत थिए भने असई पुरी बुटवलस्थित धागो कारखानामा रहेको नेपाल प्रहरी विशेष सुरक्षा गणमा कार्यरत थिइन्। डिएसपी नेपालकी जेठी पत्नी तारा नेपाल खनालले श्रीमान्ले बहुविवाह गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएपछि मुद्दा अदालतमा पुगेको थियो।
अदालतमा डिएसपी नेपालले असई पुरीसँग प्रेम सम्बन्ध रहेको र ‘लिभिङ टुगेदर’का क्रममा सन्तान जन्मिएको बयान दिएका छन्। उनले पहिलो श्रीमतीकै सल्लाहमा दोस्रो विवाह गरेको दाबी गरेका छन्। पुरीतर्फ ५ वर्षकी छोरी र २ वर्षको छोरा रहेको बताइएको छ। रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले अदालतको आदेशअनुसार डिएसपी नेपाल पुर्पक्षका लागि कारागार चलान भएको र असई पुरी धरौटीमा रिहा भएको पुष्टि गरे। यो मुद्दाले प्रहरी संगठनभित्र नै चर्चा र छलफल उत्पन्न गरेको छ।

प्रतिक्रिया