विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका आफू निकटसँग डा. शेखर कोइरालाले गरे छलफल

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका आफू निकटसँग डा. शेखर कोइरालाले गरे छलफल


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला पार्टीमा चुलिएको विवाद समाधानका लागि मध्यमार्गी विकल्पको खोजीका लागि नेताहरू खटाएका छन् ।

संस्थापन पक्षले नियमित महाधिवेशनको कार्यतालिका पछि धकेलेपछि महामन्त्रीहरू विशेष महाधिवेशनको तयारीमा जुटेपछि उनले मध्यमार्गी विकल्पको खोजीका लागि आफू निकट नेताहरूलाई खटाएका हुन् ।

विधान अनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने र विशेषको औचित्य समाप्त भइसकेको अडानका कारण काँग्रेसमा विवाद बढ्दो छ ।

नेता कोइरालाले सोमबार बिहान वसुन्धरास्थित निवासमा आफूनिकट (विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेकासहित) नेताहरूसँग सम्भावित मध्यमार्गी विकल्पबारे छलफल गरेका छन् ।

छलफलमा सहमहामत्रीद्वय बद्री पाण्डे, जीवन परियार, केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेल, हस्ताक्षर अभियानको नेतृत्व गर्ने मध्येका देवराज चालिसेलगायतको सहभागिता थियो ।

‘के भनेर विशेष महाधिवेशन पक्षधर साथीहरूलाई मनाउन सकिन्छ भनेर बिहान हामीहरूलाई बोलाउनुभएको थियो,’ छलफलमा सहभागी नेता पोखरेलले भने, ‘दाइले बिहानै आफ्नो निटककालाई बोलाएर अब के गरेर जान सकिन्छ भनेर परिचालन गर्नुभएको छ ।’

नेता कोइरालासँगको छलफलपछि चालिसे हस्ताक्षरका लागि अभियान सञ्चालन गरेका नेताहरूसँग परामर्शमा जुटेको पोखरेलले जानकारी दिए ।