दिल्लीबाट प्रचण्डको दाबी : ‘अन्तरिम सरकार बनाउन ओलीले नै सिफारिस गरेका थिए’

दिल्लीबाट प्रचण्डको दाबी : ‘अन्तरिम सरकार बनाउन ओलीले नै सिफारिस गरेका थिए’


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै सिफारिसमा जेन जेड आन्दोलनपछि अन्तरिम सरकार बनेको दाबी दोहोर्‍याएका छन् ।

दिल्लीमा आयोजित एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘प्रचण्ड’ले यस्तो बताएका हुन् । ‘प्रचण्ड’ यही कार्यक्रममा सरिक हुन भन्दै हिजो (आइतबार) भारत गएका थिए ।

‘२६ गते राति म र कमरेड माधव कुमार नेपाल, हामी दुई जनालाई राष्ट्रपति निवासमा बोलाएपछि हामीले रातभर धेरै मिहेनत गरेर यो संशयको वातावरणलाई निवारण गर्ने र देशलाई बिस्तारै नर्मल सिच्युएसनतिर फर्काउन मिहेनत गर्‍यौँ,’ सोमबार उक्त कार्यक्रममा सम्बोधन गर्ने क्रममा उनले भने, ‘अन्ततः अन्तरिम सरकार गठन गर्ने भयो । त्यतिबेला पनि कामचलाउ चाहिँ केपी ओली नै थिए, उनकै सिफारिसमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनाउने समझदारी भयो ।’

तयसपछि अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा संसद् विघटन भएको ‘प्रचण्ड’को भनाइ छ ।

‘तर संसद् विघटन गर्ने सहमति भएको थिएन । आ–आफ्ना सोच थिए । राष्ट्रपतिले परिस्थितिलाई हेरेर सुशीला कार्कीको सरकारको सिफारिसमा संसद् विघटन गरेर चुनावको मिति घोषणा गर्ने काम भयो,’ ‘प्रचण्ड’ले भने ।