काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको मुद्दा थप जटिल बन्दै गएपछि वरिष्ठ नेता डा. शेखर कोइरालाले तत्काल पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर समस्या समाधानका लागि दबाब दिनुभएको छ । कोइरालासँगै केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले पनि शीर्ष नेताहरूको बैठक तत्काल बोलाएर विशेष महाधिवेशन पक्षधर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई समेत समावेश गरी समाधान खोज्न आग्रह गर्नुभएको छ ।
आज बिहान कोइरालाको सम्पर्क कार्यालय (बिशालनगर) मा आयोजित छलफलमा ४० भन्दा बढी केन्द्रीय सदस्यहरूले सहभागिता जनाउँदै तत्काल समस्याको समाधान निकाल्न विशेष महाधिवेशन र आम निर्वाचनलाई प्याकेजमै जोडेर अघि बढाउन जोडदार माग गरेका थिए । उनीहरूले पार्टीभित्रको बढ्दो विवादले कांग्रेसलाई कमजोर बनाउने चिन्ता व्यक्त गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
कांग्रेसभित्र महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको पक्षमा जोडदार अभियान चलाइरहेका बेला संस्थापन पक्षले यसलाई औचित्यहीन भन्दै नियमित महाधिवेशनको कार्यतालिका अघि बढाउने अडान लिएको छ । यस्तो अवस्थामा वरिष्ठ नेता कोइरालाको सक्रियता र देउवासँगको भेटलाई पार्टी एकताको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।
पार्टी स्रोतका अनुसार कोइरालाले विशेष महाधिवेशनको मागलाई संस्थागत निर्णयबिना अघि बढाउँदा विभाजनको जोखिम बढ्ने बताउँदै आएका छन् । उहाँले मध्यमार्गी बाटो खोज्दै शीर्ष तहमा सहमति जुटाउने प्रयास थाल्नुभएको छ । यसले कांग्रेसभित्रको आन्तरिक संकट समाधानतर्फ महत्वपूर्ण कदम चालिएको विश्लेषण गरिएको छ ।
कांग्रेसले आगामी दिनमा राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाउन एकताबद्ध हुनुपर्ने आवाज कार्यकर्ता तहबाटै उठिरहेको छ । यो विवादको शीघ्र समाधानले पार्टीको आन्तरिक लोकतन्त्रलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया