महामन्त्रीद्धयसंग संवाद गर्न संस्थापन पक्षलाई डा कोइरालाको दबाब

महामन्त्रीद्धयसंग संवाद गर्न संस्थापन पक्षलाई डा कोइरालाको दबाब


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग तत्काल संवाद थालेर विशेष महाधिवेशनको मुद्दाको निकास निकाल्न दबाब दिनुभएको छ ।
आज बिहान महाराजगञ्जस्थित आफ्नै निवासमा आयोजित छलफलमा नेता कोइरालाले विशेष महाधिवेशनको मुद्दा थप जटिल बन्दै गएकाले महामन्त्रीद्वयलाई संवादमा बोलाई पार्टी एकता लागी  विकल्प खोज्नुपर्ने बताउनुभयो । उहाँले विशेष महाधिवेशन पक्षधर अगुवाहरू गुरुराज घिमिरे, देवराज चालिसे र सुभाष पोखरेललाई समेत समेटेर निर्वाचन मिति, टिकट वितरणलगायत विषयमा ध्यान दिँदै केन्द्रीय समितिबाटै विशेष महाधिवेशनको मिति तोकेर अघि बढ्न आग्रह गर्नुभएको छ ।
छलफलमा का वा सभापति पुर्ण बहादुर खड्का, केन्द्रीय सदस्य डा मिनेन्द्र रिजाल र रमेश लेखकको पनि सहभागी हुनुहुन्थ्यो । कोइराला र रिजालको सुझावपछि सभापति देउवाले मंगलबार राष्ट्रिय सभाको उम्मेदवार छनोटबारे छलफल गर्ने तयारी गरेको देउवा निवास स्रोतले जनाएको छ ।
कोइरालाको दबाबपछि देउवाले आफ्ना निकट शीर्ष नेताहरूसँग छलफल अघि बढाउने तयारी गर्नुभएको छ । नेता कोइरालाले विशेष महाधिवेशनको भावनाको सम्मान गर्दै पार्टी एकताबद्ध बनाउन संस्थापन पक्षले केही त्याग गर्न तयार हुनुपर्ने बताउनुभएको छ ।
पार्टीभित्र नियमित १५औँ महाधिवेशन वैशाखमा सार्ने निर्णय भए पनि महामन्त्रीद्धय थापा–शर्माले ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षरलाई आधार बनाएर विशेष महाधिवेशनको अडान कायम राख्नुभएको छ । यसले कांग्रेसमा आन्तरिक विवाद थप चर्किएको छ ।