राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा गर्ने सहमति

राष्ट्रिय सभामा पाँच दलबीच भागबन्डा गर्ने सहमति


काठमाडौँ । राष्ट्रिय सभाको निर्वाचनका लागि पाँच दलबीच भागबन्डा भएको छ । काँग्रेस, एमाले, नेकपा, लोसपा र जसपा नेपालबीच सिट भागबन्डा गर्ने सहमति बनेको हो । लोसपा र जसपा नेपालबीच भने केही दिन अघि एकीकरण गर्ने घोषणा गरिसकेका छन् ।

सिट संख्या भागबन्डा मिले पनि कुन प्रदेशमा कसले कुन क्लष्टरको सिट लिने भन्नेबारेमा अझै टुंगो नलागेको काँग्रेसका एक नेताले बताए । काँग्रेस र एमालेले ७/७ सीट लिने भएका छन् । काँग्रेस नेता एनपी साउदका अनुसार काँग्रेसले प्रत्येक प्रदेशबाट १, १ सिट लिने मोटोमोटी समझदारी भएको बताए । त्यस्तैगरी नेपाली कम्युनिस्ट पार्टीले ३ सीट पाउने भएको छ ।

पार्टी एकीकरण गर्ने घोषणा गरेका लोसपा र जसपा नेपालका लागि एक सिट छुट्टाइएको छ । काँग्रेसले उम्मेदवार छनोटका लागि बुधबार बिहान केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेको छ ।

राष्ट्रिय सभामा फागुन २० गतेबाट १९ सांसद बिदा हुँदै छन् । त्यसमध्ये १८ सिटका लागि बुधबार मनोनयन हुँदै छ भने माघ ११ गते निर्वाचन हुँदै छ ।

सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका वामदेव गौतम पनि बिदाइ हुँदै छन् । उनको ठाउँमा सरकारले सिफारिस गर्नेछ ।