खोटाङ । खोटाङका दुई ठाउँमा बेलिब्रिज जडान गर्न ठेक्का प्रक्रिया अघि बढाइएको छ । खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीको बतासेघाट तथा खोटेहाङ गाउँपालिका र बराह पोखरी गाउँपालिका जोड्ने सावा खोलामा बेलिब्रिज जडान गर्न कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय विराटनगरले प्रक्रिया अगाडि बढाएको हो ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित बतासेघाट र उदयपुरको लिम्चुबुङ गाउँपालिका–१ बाँस्बोटेस्थित सुनकोशीमा बेलिब्रिज जडान हुने भएपछि स्थानीयवासी हर्षित भएका छन् । यस्तै, खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र बराह पोखरी गाउँपालिका–१ बराहपोखरीस्थित भोर्मा जोड्ने सावा खोलामा पनि प्रदेश सरकारकै लगानीमा अस्थायी बेलिब्रिज जडान गरिने भएको हो ।
सवारीसाधन वारपारका लागि बेलिब्रिज जडान गर्न कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले ठेक्का आह्वान गरेको हो । खोटाङका दुई ठाउँ र इलामको फेवाखोलास्थित माङ्सेबुङ–१ र २ जोड्ने गरी तीन ठाउँमा बेलिब्रिज जडान गर्न मन्त्रालयबाट ठेक्का आह्वान भएको कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास एवम् स्वास्थ्य मन्त्री भूपेन्द्र राईका स्वकीय सचिव बाजिन्द्र विष्टले जानकारी दिए।
दुर्छिमको बतासेघाट र बाँस्बोटेको सिमानामा रहेको सुनकोशीमा बेलिब्रिज जडान पश्चात धार्मिक स्थल हलेसीको पर्यटक प्रवद्र्धनमासमेत टेवा पुग्ने अपेक्षा गरिएको छ । बेलिब्रिज सञ्चालनमा आएपछि खोटाङतर्फ सुनकोशी किनारमा बसोबास गर्दै आएका नागरिकलाई तराई आवतजावतमा सहजतासँगै सामान ढुवानी गर्न मद्दत पुग्ने दुर्छिमका वडाध्यक्ष रूपेन्द्रकुमार राईले बताए ।

प्रतिक्रिया