रुपन्देही । नेपाली कांग्रेसले आगामी राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट बासुदेव जंगली घिमिरेलाई उम्मेदवार बनाउने भएको छ। उनलाई अपाङ्गता भएका व्यक्ति क्लस्टरबाट अगाडि सारिएको हो।
घिमिरे दाङ जिल्लाको लमही नगरपालिका–१ का स्थायी बासिन्दा हुन्। उनी कांग्रेसका पुराना तथा सक्रिय नेता हुन् र सोही क्षेत्रमा क्षेत्रीय सभापति भइसकेका छन्। घिमिरे पार्टीका नेता डा शेखर कोइराला पक्षधरका रूपमा चिनिन्छन्।
स्रोतका अनुसार मंगलबार राति अबेरसम्म छलफल चले पनि अन्ततः घिमिरेको नाममा सहमति जुटेको छ। उनी उम्मेदवारी दर्ताका लागि घोराहीतर्फ प्रस्थान गरिसकेको बताइएको छ।
यसअघि सत्ता गठबन्धन दलहरूबीच राष्ट्रिय सभाका १९ सिटमध्ये कांग्रेस र एमालेलाई ७/७, नेकपा (एकीकृत समाजवादी) लाई ३ र जसपालाई १ सिट भागबन्डा गर्ने सहमति भएको थियो। माघ ११ गते निर्वाचन हुन लागेका यी सिटहरूमा उम्मेदवारी दर्ता बुधबार हुँदैछ।
लुम्बिनी प्रदेशबाट अपाङ्गता क्लस्टरको यो सिटमा कांग्रेसको बलियो दाबी रहेको थियो। घिमिरेको उम्मेदवारीले पार्टीभित्रको आन्तरिक सहमति र समावेशी प्रतिनिधित्वलाई पनि झल्काएको विश्लेषण गरिएको छ।

प्रतिक्रिया