काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी नदिने घोषणा गरेका छन्।
बुधबार मकवानपुरको हेटौँडामा पत्रकार सम्मेलन गर्दै खतिवडाले प्रतिनिधि सभा निर्वाचनमा सहभागी नहुने बताएका हुन्। दुईवटा निर्वाचन क्षेत्र रहेको मकवानपुरको दुवै क्षेत्रका लागि नेकपाले खतिवडाको नाम पहिलो नम्बरमा सिफारिस गरेको थियो।
तर उनले दुवै क्षेत्रबाट निर्वाचन नलड्ने घोषणा गरेका हुन्। पार्टीले आफूबाहेक जसलाई उम्मेदवार बनाए पनि जिताउनका लागिपर्ने बताउँदै उनले भने, ‘अब नयाँ अनुहारलाई पालो दिनुपर्छ। जेनजी आन्दोलनले नयाँ अनुहार खोजेको कुरा जगजायज छ। निर्वाचनमा होमिन्नँ तर राजनीतिबाट संन्यास लिएको भने होइन।’
खतिवडा मकवानपुरको राजनीतिमा प्राय: सधैँ जितिरहने नेताको रूपमा स्थापित अनुहार हुन्। तत्कालीन अवस्थामा नेकपा एमालेबाट ४ पटक संसदीय यात्रामा सफल भएका खतिवडा एमाले छोडेदेखि निर्वाचनले सफलता दिलाएको छैन। उनले २०७९ को प्रतिनिधि सभा निर्वाचन सहित ६ वटा निर्वाचनमा भाग लिइसकेका छन्।
खतिवडा राष्ट्रिय पञ्चायत हुँदै प्रतिनिधिसभा सदस्यका रूपमा मकवानपुरबाट ६ पटक उम्मेदवार बनेर ४ पटक सफलता हात पार्न सफल थिए।

प्रतिक्रिया