नेपाली फिल्ममा पोजेटिभ र नेगेटिभ दुवै भूमिकामा राम्रो जम्दै आएका अभिनेता प्रमोद अग्रहरी अब बङ्गाली फिल्ममा पनि देखिने भएका छन् । बङ्गाली फिल्म ‘हांगोर’मा उनी मुख्य भूमिकामा देखिने भएका हुन् ।
निर्देशक ट्यानमोइ सोर्जोद्वारा निर्देशित फिल्म ‘हांगोर’ गाजी हिमोले निर्माण गरेका हुन् । फिल्मको एक पोस्टर समेत सार्वजनिक गरिएको छ । जसमा प्रमोदको नाम कलाकार लिस्टमा पहिला छ ।
बङ्गाली भाषामा ‘हांगोर’ को अर्थ सार्क हो र सार्क पात्रमा नै आफू देखिने अभिनेता प्रमोदले रातोपाटीलाई बताए । फिल्मको फस्ट लुक्सको रूपमा निर्माण टिमले एक भिडियो सार्वजनिक गर्ने तयारी रहेको उनले जानकारी दिए ।
हुन त केही अगाडि प्रमोदले बङ्गाली फिल्म अभिनय गरेको चर्चा चलेको थियो । यस विषयमा प्रमोद मौन रहँदै आएका थिए । थुप्रै नेपाली फिल्ममा अभिनय गरेर दर्शक माझ स्थापित प्रमोद पछिल्लो समय रिलिज रावायण, अगस्त्य, पीताम्बर जस्ता फिल्ममा डरलाग्दो खलनायकको रूपमा प्रस्तुत भएका थिए ।

प्रतिक्रिया