काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट घटकलाई एकीकृत गर्न अग्रसर रहेको बताएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुदृढ गर्न बृहत् राष्ट्रिय एकताको आवश्यकता रहेको बताए । सोही आवश्यकताको आधारमा विभिन्न १७ वटा साना-ठूला कम्युनिस्ट घटकलाई समेटेर नेकपा बनाइएको उनको जिकिर छ ।
उनले पछिल्लो समय सबै प्रदेश, जिल्ला र पालिकामा युवापुस्ताको आकर्षण नेकपातर्फ बढ्दै गएको दाबी पनि गरे । जेन जेड युवाहरूले आफ्ना विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी नेकपा नै भएको भनी बुझ्न थालेको उनको भनाइ छ ।
‘यो राष्ट्रको एकतालाई र स्वाधीनतालाई सुदृढ गर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा छ । देशलाई आर्थिक रूपमा समृद्ध बनाउने जिम्मेवारी पनि हाम्रो काँधमा छ । त्यो एक्लैदुक्लै गरेर सकिने कुरा होइन त्यसको लागि एउटा बृहत् राष्ट्रिय एकताको आवश्यकता पर्छ । त्यही उद्देश्य बोकेर नै हामीले विभिन्न १७ वटा सानाठूला कम्युनिस्ट घटकहरूलाई मिलाएर नेपाली कम्युनिस्ट पार्टी स्थापना गरेर हामी अगाडि बढ्दै छौँ,’ उनले भने ।
यो प्रक्रियासँगै सबै प्रदेश, जिल्ला र पालिकामा पनि युवाहरू नेकपामा केन्द्रित हुने अवस्था बढ्दै गएको उनको दाबी छ ।
उनले अगाडि भने, ‘खासगरी जेनजी युवापुस्ताले हाम्रो विचार र भावनालाई सही ढंगले प्रतिनिधित्व गर्ने पार्टी त नेपाली कम्युनिस्ट पार्टी नै रहेछ भन्ने बुझ्दै गएको अवस्था पनि देखिएको छ । आज पार्टीमा जोडिन आउने तपाईँ पनि धेरैजसो युवापुस्ता नै हुनुहुँदो रहेछ । यसले आज फेरी एउटा सकारात्मक सन्देश देशभरी प्रवाहित भएको छ । त्यस अर्थमा पनि म तपाईँहरू सबैलाई धन्यावाद भन्न चाहन्छु ।’
उनले मुलुकको बृहत्तर हितका लागि सधैँ तत्पर रहन सबैसँग आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया