दक्षिण भारतीय सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘द राजा साब’ आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । रिलिज अघि बिहीबार राति फिल्मको हैदरावादका केही थिएटरमा विशेष शो राखिएको थियो । विशेष शोलाई लिएर विवाद समेत उत्पन्न भयो ।
समाचारका अनुसार ‘द राजा साब’ को रिलिज अघि टिकटको मूल्य वृद्धि गर्न निर्माण पक्षले सरकारबाट अनुमति लिएको थियो । सोही अनुसार धेरै स्थानमा बिहीबार राति नै विशेष शोहरू आयोजना भएका थिए ।
जसका कारण प्रभासका फ्यानहरू फिल्म हेर्न निकै उत्साहित थिए । तर, हैदरावादका केही थिएटरले टिकट दर वृद्धिसम्बन्धी सरकारी आदेश समयमै नपाउँदा प्राविधिक समस्या उत्पन्न भयो । सरकारी पत्र नआएसम्म शो सुरु गर्न नसकिने थियटरले बताएपछि प्रिमियरमा ढिलाइ भयो, जसले फ्यानहरूलाई आक्रोशित तुल्यायो ।
फिल्मको प्रदर्शनमा ढिलाइ भएपछि फ्यानहरूले रिस थिएटर व्यवस्थापनमाथि पोखे । ठुलो सङ्ख्यामा भेला भएका फ्यानहरू जबरजस्ती थिएटरभित्र छिरेर हङ्गामा गर्न थाले । कतिपयले थिएटर बाहिरै धर्नासमेत दिए । भीड बेकाबू भएपछि खिचिएका भिडियोहरू अहिले सामाजिक सञ्जालमा भाइरल छन् ।
विवादका कारण हैदरावादका केही थिएटरहरूमा स्थिति यति खराब भयो कि व्यवस्थापनले दर्शकलाई सम्हाल्न सकेन । राती प्रिमिएर शोका लागि बुकिङ खुल्ला गरियो । तर टिकटको मूल्य र शोको समयलाई लिएर स्पष्टता नहुँदा फ्यानहरू निकै अन्योलमा परेका थिए । अन्ततः केही सिंगल स्क्रिन थिएटरहरूले सुरक्षाको कारण देखाउँदै प्रभासको फिल्मको विशेष शो नै रद्द गरिदिए ।
मारुतीद्वारा निर्देशित फिल्ममा प्रभासको अलवा सञ्जय दत्त, जरीना वहाब, मालविका मोहनन, निधि अग्रवाल र रिद्धि कुमारको मुख्य भूमिका छ । प्रभास यस फिल्ममा ‘राजा साब’को भूमिकामा देखिनेछन् । ‘द राजा साब’ हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम गरी पाँच भाषामा विश्वभर रिलिज भएको छ ।

प्रतिक्रिया