थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै

थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै


थारू समुदायले माघीको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन रातभर ढुम्री नाच्ने चलन थियो । गाउँका थारू समुदायका अगुवा वा महतवाको घरमा जम्मा हुने र रातभर ढुम्री गीत गाउने र नाच्ने चलन थियो । “गीत गाउने, नाच्ने र रातभर दाउराको आगो ताप्ने चलन थियो”, थारू अगुवा आशाराम चौधरीले भने, “यो हाम्रो संस्कार हो ।”

रातभर नाचगान गर्ने र बिहान त्यही ढुम्री गीत गाउँदै नदी तथा खोलामा गएर नुहाउने गरिन्थ्यो भने नुहाइसकेपछि महतवाले सबैलाई टीका लगाइदिने र पुनः महतवाकै घरमा पुग्ने चलन थियो । महतवाका घरमा पुगेपछि सबै आआफ्नो घरमा जाने चलन भए पनि पछिल्लो समय यो चलन हराउँदै गएको थारू अगुवा चौधरीले बताए । “पुर्खाहरूले यस्तो चलन अपनाउनु हुन्थ्यो”, उाले भने, “तर अहिले नयाँ पुस्ताले यो कुरा चटक्कै छोड्नुभएको छ ।”

यस्तो चलन हराउँदै गएको २०–२५ वर्ष भइसकेको तुलसीपुर–१८ निवासी फुलाराम चौधरीले बताए । पहिलेपहिले उहाँहरूले यसरी ढुम्री नाच नाच्नुहुन्थ्यो । तर अहिले नाच्न छोडियो ।”

नयाँ पुस्तालाई यो नाचका बारेमा जानकारी नहुँदा पनि समस्या हुने गरेको नमूना भुह्यारथान तुलसीपुरका अध्यक्ष रामशरण चौधरीले बताए । उनका अनुसार यो नाचले थारू समुदायको एकताको भावना जागृत गर्ने भन्दै यसलाई संरक्षण गर्न लागिएको समेत उनले बताए ।

“हाम्रो हाम्रो संस्कार, संस्कृति नभई थारू समुदायलाई एक भएको सन्देश दिने कुरा पनि हो, तर यो लोप हुने अवस्थामा छ, यसलाई संरक्षण गर्नुपर्छ, भनेर हामी लागेका छौँ”, उनले भने । यो नाच लोप भएपछि प्रत्येक वर्ष कार्यक्रम गरी नाच संरक्षणमा लागेको समेत बताए । यसले नयाँ पुस्तामा नाचका बारेमा जानकारी हुने उनको भनाइ छ । यस वर्ष पनि त्यो कार्यक्रम गरिएको अध्यक्ष चौधरीले बताए ।