जबसम्म निकास निस्किँदैन तबसम्म म निरन्तर लागिरहने छु :शेखर कोइराला

जबसम्म निकास निस्किँदैन तबसम्म म निरन्तर लागिरहने छु :शेखर कोइराला


काठमाडौ । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले विशेष महाधिवेशनको विषयमा आफूलाई फेरि मझधारमा उभ्याएका छन् । यो विवादमा संस्थापन कि इतर भनेर नखुलेका शेखरले आफूलाई फेरि मध्यमार्गी नेताको रूपमा प्रस्तुत गरेका छन् ।

भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन हुनुअघि भिडियो सन्देश जारी गर्दै उनले आफूलाई देउवाको कार्यशैलीसँग भिड्नुपर्ने र युवाको असन्तोष सामना गर्नुपर्ने नेताको रूपमा अर्थ्याएका हुन् ।

यस्तो छ शेखरको भिडियो सन्देशको पूर्णपाठ

आदरणीय साथीहरू,

आज देश आसन्न निर्वाचनको संघारमा छ । जनआन्दोलनबाट निर्वाचित सरकारको ठाउँमा अनिर्वाचित सरकार ९सुशिला कार्कीको सरकार भनिएको० गठन भएको केही महिना मात्र भएको छ । यस क्रममा संविधान सभाबाट जारी भएको नेपालको संविधान यतिखेर छतविक्षत भएको अवस्थामा छ ।

आठ दशक अगाडि नेपाली कांग्रेसका संस्थापक नेताहरूले देशको संविधान नेपाली जनताले लेख्छन् भनी नेपालको लोकतान्त्रिक आन्दोलन सुरु गर्नुभएको थियो । यो गौरवशाली इतिहासको शृङ्खलाले अनेकन् कष्ट, यातना र बलिदान भोग्दै, निरंकुश तन्त्रहरूसँग लड्दै लोकतन्त्र र नागरिक सार्वभौम सत्ताको शाश्वत सत्यलाई स्थापित गर्न सफल भयो ।

यतिखेर हामी लगायत सबै राजनीतिक दलहरू त्यही सार्वभौम संविधान, जुन नेपालको मूल कानुन हो, त्यसलाई भावी निर्वाचन मार्फत बचाउने प्रयत्न गरिरहेका छौं । हामी भाद्र २४ गतेदेखि २७ गतेसम्म घटित अन्योल, अराजकता र संविधानहीनताको त्रासदीपूर्ण अवस्थालाई यति चाँडो कसरी बिर्सन सक्छौं ररु नेपाली सेनाको सक्रियतामा राजनीतिक निकास खोज्नुपर्ने र देशको आन्तरिक सुरक्षामा सेना उतार्नुपर्ने असहज अवस्था आइपर्‍यो ।

हाम्रो यस किसिमको अवस्थाको पुनरावृत्ति नचाहँदा मात्र हामीले हाम्रा शहीदहरूप्रति न्याय गरेको ठहर्छ । के हामी भावी पुस्तालाई फेरि लोकतन्त्रका लागि बलिदान, संघर्ष र यातनाको मध्ययुगीन चरणमा पुगेको नेपाल छाडेर जान अभिशप्त छौँ रु

हाम्रा आदरणीय नेताहरू, बुद्धिजीवी वर्ग, कानुनविद्, पत्रकार साथीहरू लगायत सबैलाई देशको मूल कानुनको महत्त्व र कांग्रेसका साथीहरूलाई समेत संविधानहीनताको अवस्था बारे मैले भनिरहनु नपर्ला । म भन्दा यहाँहरू धेरै मर्मज्ञ हुनुहुन्छ । जनआन्दोलनबाट उत्पन्न राजनीतिक परिस्थितिमा देशका मूलधारका पार्टीहरूको नेतृत्वबारे नागरिक तहबाट र पार्टीभित्रबाट पनि बहस, छलफल र दबाबहरू सुरु हुनु स्वाभाविक थियो, र भयो । राजनीतिक दलहरूको विफलताले राजनीतिक नेतृत्वमा प्रश्न उठ्यो र यस प्रकरणमा नेपाली कांग्रेसभित्र संगठित प्रयत्नहरू अगाडि आए ।

नेपाली कांग्रेसको विधानको विकासक्रममा पार्टीको आन्तरिक जीवनलाई लोकतान्त्रिक बनाउने अनेकन् प्रावधानहरू राखिएका छन् । नेपालको संविधान झैँ यहाँ पनि शक्ति पृथकीकरणको मौलिक सिद्धान्तलाई प्रयोगमा ल्याउने कोसिस गरियो । यसको श्रेय निसन्देह पुरानो पुस्ताहरूलाई दिनुपर्छ । यही कारण आज नेपाली कांग्रेसको पदाधिकारी देखि केन्द्रीय कार्यसमितिमा पनि युवाहरूको सहभागिता रह्यो ।

कांग्रेसको वैधानिक विकासक्रम हाम्रा श्रद्धेय नेता बीपी कोइरालाको मेलमिलापवादी भावनाबाट उत्प्रेरित थियो । त्यहाँ सहमति, सहकार्य र सहअस्तित्वको सिद्धान्तलाई मूल मर्म ठानिएको थियो र छ । कसैप्रति विद्वेष र निषेध थिएन । मैले यिनै मर्मलाई आत्मसात् गरेर कांग्रेस भित्र पुस्तान्तरण र हस्तान्तरणको अभियान नै चलाएँ । धेरै युवा साथीहरू मसँग जोडिए । म सधैँ कांग्रेस विधि, विधान र नियमसम्मत प्रक्रियाबाट चलोस् भन्ने संघर्षरत रहें ।

मेरो लड्ने तरिका शान्त र मधुरो थियो । मेरो कयौँ शैलीहरूसँग साथीहरू असहमत भएको म बुझ्थे । तर, पनि म कांग्रेसको रूपान्तरण अभियानमा आक्रोश र अधैर्य भएर अगाडि बढ्न चाहिनँ । म यहाँ प्रस्ट भन्न चाहन्छु– मेरो निजी महत्त्वाकांक्षा केही छैन । मलाई मन्त्री, महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित गरेन । यस्ता अवसरहरू आए तर मैले रुचि देखाइनँ । त्यस्तै सभापति, प्रधानमन्त्री हुने कुराले मलाई लोभ्याउँदैन । मैले मेरो परिवारबाट पाएको यही शिक्षा मेरो जीवन दर्शन हो र म यही जीवन दर्शनबाट अभिप्रेरित भएर कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहेको छु र उठाइरहनेछु ।

यस क्रममा मैले एकातिर सभापति शेरबहादुर देउवाको कार्यशैली सँग लड्नु परेको थियो भने अर्कोतिर ती युवाहरूको असन्तोषको सामना गर्न परिरहेको छ, जो ऊर्जावान् र जोसिलो भएर मेरो अगाडि उपस्थित हुन्छन् । मलाई थाहा छ, कांग्रेस विधानमा के छ र के हुनुपर्छ । मैले कांग्रेस विशेष महाधिवेशनको अभियान चलिरहँदा आफ्नो मत केन्द्रीय कार्यसमितिमा लिखित रूपमै राखेको छु । मैले यो राखिरहँदा कांग्रेसमा कुनै कतै कुनाबाट पनि विभाजनको प्राविधिक र भावनात्मक सन्देश प्रवाह नहोस् भनी सतर्क थिएँ ।

मलाई यो पनि थाहा छ, कांग्रेस संक्रमणमा पर्दा कसरी र कसले त्याग र अपमान सहनुपर्छ भनेर । म ती सबै सहेर पनि अन्तिमसम्म पार्टी विधानबाट मात्र होइन, कांग्रेसजनको भावनात्मक एकतामा अगाडि बढिरहनेछु । बीपीको मेलमिलाप कुनै कानुनको पन्नाबाट निस्केको थिएन । न कांग्रेसको विधान र नेपालको संविधानमा थियो । यो बीपीको अन्तरआत्माको आवाज थियो ।

यो नेपाली जनको आवाज थियो । म एक्लो भए पनि बीपी, सुवर्ण, गणेशमान, किसुनजी, गिरिजाबाबु, सुशीलदा लगायत हाम्रा अग्रज नेताहरूले छाडेको पदचिह्नबाट विचलित हुने छैन । यो पदचिह्न भनेको कांग्रेसको मौलिक आदर्श सिद्धान्त हो, जसमा टेकेर नेपालीहरू सार्वभौम भए, स्वतन्त्र भए । के हामी सबै कांग्रेसजन मिलेर सहमति, सहकार्य र सहअस्तित्वलाई एकाकार गर्दै समग्र कांग्रेस एकताको बिगुल फुक्ने महाधिवेशन गरेर जान सक्दैनौँरु के हामीसँग भरोसा र विश्वास गर्ने हाम्रा समर्थक, शुभचिन्तक साथीहरू र अन्तर्राष्ट्रिय समुदायले पनि हामी एकताबद्ध भएर अगाडि बढेको हेर्न नचाहेका होलान् ररु सोचौँ हामी ।

आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू, तपाईंहरू पार्टीको धरोहर हुनुहुन्छ । तपाईंहरू विधिको प्रभावकारिता र नीतिको सान्दर्भिकता स्थापित गर्ने पवित्र उद्देश्यका साथ काठमाडौँ आउनुभएको छ । पार्टीको विधानको कार्यान्वयन गर्ने संकल्प गर्दै हुनुहुन्छ । त्यस विषयमा समग्र कांग्रेसको हित र एकताबद्ध पार्टी कसरी निर्माण गर्न सकिन्छ भन्ने ऐतिहासिक दायित्व निर्वाह गर्न समेत त्यति नै सक्षम हुनुहुन्छ भन्ने मेरो गहिरो विश्वास छ । यो कार्यका लागि मैले केही दिनदेखि भगीरथ प्रयास गरिरहेको छु । जबसम्म निकास निस्किँदैन तबसम्म म निरन्तर लागिरहने छु भन्ने प्रण पनि गर्दछु ।

मेरो दृढ विश्वास छ, एकताबद्ध भएर अगाडि बढ्न सकिन्छ र यो ‘जय नेपाल’ को नाराको गुञ्जनबाट मात्र सम्भव छ भन्ने मलाई लाग्छ ।

जय नेपाल ।