कोइराला भन्छन् ‘विष पिएरै भए पनि पार्टी फुट्न दिन्न’

कोइराला भन्छन् ‘विष पिएरै भए पनि पार्टी फुट्न दिन्न’


 

काठमाडौं। नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले आफू विष पिएर भए पनि पार्टी फुट्न नदिने बताएका छन्।

आफू निकटका पार्टीका नेता तथा कार्यकर्ता र कानुन व्यवसायीसँगको छलफलको क्रममा डा.कोइरालाले पार्टी विभाजनको जोखिम बढ्दै गएको भन्दै त्यसलाई रोक्न आफू निरन्तर संवाद र सहजीकरणमा जुटिरहेको बताएका हुन्।

उनले भने, ‘पार्टी एकताका लागि अन्तिम प्रयासका रूपमा आफू ‘विष पिएरै भए पनि’ पार्टीभित्रको एकता जोगाउने दृढ संकल्पमा रहेको छु।’

‘म पार्टी सभापति, कार्यवाहक सभापति र महामन्त्रीहरूसँग पार्टी कुनै पनि हालतमा फुट्न नदिनुपर्छ भनेर निरन्तर कुरा गरिरहेको छु,’ उनले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्, पार्टी फुट्दैन। तपाईंहरू पनि एकताकै पक्षमा लाग्नुहोस्, निराश हुने कुनै कारण छैन।’

छलफलमा सहभागी वरिष्ठ कानुन व्यवसायीहरूले नेपाली कांग्रेसको विधानअनुसार विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिलाई मात्र रहेको स्पष्ट पारे।

उनीहरूले हाल महामन्त्रीहरूले आह्वान गरेको विशेष महाधिवेशन वैधानिक नभएको र त्यसका आधारमा नेतृत्व परिवर्तन गर्न नमिल्ने धारणा राखे।

छलफलमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन डा। कोइरालाले दुवै पक्षबीच सहजीकरण गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

छलफलमा सहभागी नेता तथा कार्यकर्ताहरूले पार्टीलाई फुटबाट जोगाउन डा. कोइरालाले दुवै पक्षबीच सहजीकरण गर्दै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने सुझाव दिएका थिए।

छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु बल बहादुर केसी, डा.मिनेन्द्र रिजाल, बरिष्ठ अधिबक्ताहरु शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपाने लगायतको सहभागीता रहेको थियो।