राजधानीमा शुक्रबार (२ माघ) बाट १४ औँ संस्करणको नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव–२०२६ आयोजना हुने भएको छ । महोत्सवमा यस पटक नेपालसहित २० देशका ४३ वटा चलचित्र छानिएका छन् ।
चलचित्र विकास बोर्ड चाबहिल, काठमाडौँमा आयोजना हुने महोत्सवमा नेपाली समूहमा करिब ४ दर्जनभन्दा बढी चलचित्र, वृत्तचित्र एवम् लघु चलचित्रबाट २० वटा चयन गरिएको महोत्सवका निर्देशक डब्बु क्षत्रीले बताए ।
कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेसन, विलक्षण क्रियसन प्रालिको आयोजना र चलचित्र विकास बोर्डको सहकार्यमा महोत्सव हुन लागेको हो । कलेजकी प्रिन्सिपल एवम् महोत्सवकी अध्यक्ष डा.मञ्जु मिश्रका अनुसार यो पटक महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, नृत्य कार्यशाला, कला प्रदर्शनी, मास्टर क्लास पनि सञ्चालन गरिँदैछ ।
महोत्सवमा नेपाली कथानक चलचित्रतर्फ १३ वटा चलचित्रबाट ५ नेपाली चलचित्र फाइनलका लागि चयन भएका छन् । जसमा ओस्कारमा जान सफल मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’, निर्देशक सरोज पौडेलको चलचित्र ‘कोशेढुगा’, निर्देशक ऋषि लामिछानेको चलचित्र ‘माग्ने राजा’, निर्देशक दीपकप्रसाद आचार्यको यो वर्षकै सर्वाधिक सफल चलचित्र ‘परान’ र निर्देशक नर प्रधान (मित्र) को चलचित्र ‘यो मन त मेरो नेपाली हो’ रहेको छ ।
यस्तै वृत्तचित्रतर्फ भिमलाल श्रेष्ठ निर्देशित ‘अरिङ्गाल म्यान’, रमेश खड्का निर्देशित ‘डान्सिङ इन फायर’ र निशा मानन्धर निर्देशित ‘अ बडी नट माइन्ड’ चयन भएका छन् । खुला र विद्यार्थी समूह गरेर १० वटा लघु चलचित्र प्रदर्शन गरिँदैछ ।
जसमा विद्यार्थीतर्फ विनोद पाण्डे निर्देशित ‘अ कलर फुल नाइट’, प्रसन्न माली निर्देशित ‘अन्तरवार्ता’, समीर राई निर्देशित ‘पेज फाइव’ र अश्विनी थापाको ‘इकोज अफ होप’ रहेका छन् ।
खुला लघु चलचित्रतर्फ भने सौगात विष्ट निर्देशित ‘भुवा’, रुशील अमात्य निर्देशित ‘मौनता’, कमल एक्चै मगर निर्देशित ‘अवशेष’, गोविन्दप्रसाद ढकाल निर्देशित ‘साइलेन्ट स्कार्ड’ र मोहन श्रेष्ठ निर्देशित ‘दृश्य’ महोत्सवमा प्रदर्शन गरिँदैछ ।
आदिवासी तर्फ सागर केरुङ निर्देशित ‘तान्सिङ’, दिलिप फुरुम्बो निर्देशित नाम ओती र सेमक्वा गरी तीन चलचित्र प्रतिस्पर्धामा छ । नेपाल बाहेक अफ्रिकी र अन्तर्र्राष्ट्रिय समूहबाट १९ देशका २३ वटा लामा छोटा चलचित्रहरू महोत्सवका लागि चयन गरिएको छ ।
यो वर्ष अन्तर्राष्ट्रियतर्फ ४० भन्दा बढी मुलुकका करिब ९० वटा चलचित्रको आवेदन परेकोमा प्रतिस्पर्धामा १५ वटा लघु चलचित्र चयन भएका हुन् । तीन वटा वृत्तचित्र, दुई वटा कथानक चलचित्र र तीन वटा अफ्रिकन चलचित्र चयन भएका छन् ।
जसमा इन्डोनेसियाबाट लघु चलचित्र ‘इक्लिप्से’, ताइवानबाट ‘द इल्डर क्र्याब’, टर्कीबाट ‘आईएम नट वर्क एनिमोर’, सर्भियाबाट लघु चलचित्र ‘कास्ट’ चयन भएका छन् । यसैगरी, संयुक्त राज्य अमेरिकाबाट यस पटक दुईवटा लघु चलचित्र ‘ग्राम्पी ओल्ड म्यान’ र ‘द जब’ रहेका छन् । बङ्गलादेशबाट ‘नो डाइस’, ‘लेटर अफ द फलेन लभर्स’, इरानबाट लघु चलचित्र ‘भोयउर’ र ‘द रोप’, फ्रान्सबाट लघु चलचित्र ‘अगस्ट १७ एट फाईभ पि एम’, श्रीलंकाबाट ‘सायाम’, अस्ट्रियाबाट ‘रेभेनान्ड’, भारतबाट ‘ब्ल्यु’, हङकङबाट लघु चलचित्र ‘पेपर रिङ’ अन्तिम प्रतिस्पर्धामा रहेका छन् ।
महोत्सवमा अन्तर्राष्ट्रिय कथानक चलचित्र तर्फ बङ्गलादेशबाट ‘मेमोरी अफ ग्लुमी मनसुन’ र कोष्ट डी आईभोरीबाट चलचित्र ‘साइलेन्स मोर्टेल’ अन्तिम प्रतिस्पर्धाका लागि चयन भएका छन् ।
यसैगरी महोत्सवमा अन्तर्राष्ट्रिय वृत्तचित्र तर्फ युक्रेनबाट युद्ध सम्बन्धी वृत्तचित्र ‘द स्केडुलेड अफ फाइटिङ टु लर्न’, स्टोनियाबाट ‘अटिस्ट अफ सर्भिलय’, जर्मनीबाट ‘गर्लस् डन्ट प्ले स्पोर्टस्ट’ चयन भएका छन् । यी तीनमध्ये एकले उत्कृष्ट अन्तर्राष्ट्रिय वृत्तचित्रको अवार्ड चुम्नेछन् ।
यस्तै, अफ्रिकन चलचित्रतर्फ इजिप्टबाट चलचित्र ‘द मंकी’, ट्युनिशियाबाट चलचित्र ‘मेट्रो पोलिस’ र मोरक्कोबाट चलचित्र ‘द चेम्बर’ गरी तीन चलचित्र अन्तिम प्रतिस्पर्धाको लागि चयन भएका छन् । यी चलचित्रबाट उत्कृष्ट हुनेले सर्वोत्कृष्ट अफ्रिकन चलचित्रको अवार्ड जित्ने भएका छन् ।
३० जनालाई नृत्य प्रशिक्षणमा सहभागी गराइनेछ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र चलचित्र विकास बोर्डको सहकार्यमा नृत्य प्रशिक्षण आयोजना गर्न लागिएको हो । महोत्सवस्थल चलचित्र विकास बोर्डको प्रांगनमा ‘सिनेमा, कल्चर एन्ड नेचर’ शीर्षकमा चार दिनसम्म चित्रकला प्रदर्शनी पनि आयोजना गरिने भएको छ । महोत्सवमा विभिन्न देशबाट १० जना विदेशी चलचित्रकर्मी पनि सहभागी हुने भएका छन् ।
महोत्सव निर्देशक क्षत्रीका अनुसार पछिल्लो वर्षबाट नेपाल अफ्रिका चलचित्र महोत्सवलाई विश्वका चलचित्र समेट्ने उद्देश्यसहित ‘नेपाल अफ्रिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ नामाङ्कन गरिएको हो । महोत्सव माघ ५ गते सकिनेछ ।

प्रतिक्रिया