बालेनका सल्लाहकार सुनिललाई टिकट दिएपछि असन्तुष्ट श्री कुँवरले रास्वपा छोडे

बालेनका सल्लाहकार सुनिललाई टिकट दिएपछि असन्तुष्ट श्री कुँवरले रास्वपा छोडे


बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट रुपन्देही–१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस भएका डा श्री कुँवरले पार्टी परित्याग गरेका छन्। पार्टीले प्राइमरी इलेक्सनको प्रक्रिया पूरा नगरी उम्मेदवार छनोट गरेको र आकांक्षीबाट रकम असुली गरेको आरोप लगाउँदै उनले यो कदम चालेका हुन्।

डा। कुँवरले जारी गरेको विज्ञप्तिमा भनेका छन्, “रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपाबाट प्रतिनिधिसभा उम्मेदवारीका लागि अमेरिकाबाट बोलाएर समानुपातिकमा ५० हजार र प्रत्यक्षमा २५ हजार गरी ७५ हजार रुपैयाँ लिएर प्राइमरी भोटिङ नै नगरी कसैको खल्तीबाट सुनिल लम्साललाई टिकट दिएर रास्वपाको नीति विपरीत मलाई अन्याय गरेकाले मैले रास्वपाको कुनै पदमा नरहने गरी राजीनामा गरेको छु।”

रुपन्देही–१ बाट डा। कुँवरसहित ६ जना उम्मेदवार सिफारिस भएका थिए। तर पार्टीले प्राइमरी इलेक्सन नगरी सो क्षेत्रबाट रास्वपा वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहका पूर्वसल्लाहकार सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो। यसलाई लिएर कुँवरले पार्टीको प्रक्रियालाई ‘भ्रष्टाचारको नयाँ तरिका’ भनेका छन्।

उनले थप भने, “म अमेरिकामा सेटल भएर बसिरहेको थिएँ। रास्वपाका क्षेत्रीय सभापति मोहनविक्रम जीसी र नेता प्रेम खत्री लगायतले नेपाल आएर उम्मेदवार बन्न आग्रह गरेपछि दुई लाख रुपैयाँ खर्च गरेर आएँ र सिफारिस पनि भएँ। प्राइमरी इलेक्सन हुन्छ भन्ने विश्वासमा थिएँ, तर भएन। रास्वपाले प्राइमरी इलेक्सनका नाममा आकांक्षीबाट पैसा असुल्ने तर प्राइमरी नगर्ने विषय भ्रष्टाचारको नयाँ तरिका हो। पार्टीले विदेशमा रहेका नेपालीको भावनामा खेलवाड गरेको छ।”

डा। कुँवरले अब रवि लामिछाने वा अरू कसैले भने पनि रास्वपामा नफर्किने जिकिर गरेका छन्। उनले आगामी शनिबार पत्रकार सम्मेलनमार्फत आफ्ना बाँकी योजना सार्वजनिक गर्ने बताएका छन्।

यो घटनालाई रास्वपाभित्रको दोस्रो ठूलो असन्तुष्टिका रूपमा हेरिएको छ। केही दिनअघि मात्र रास्वपाका नेता प्रणयशमशेर राणाले पनि प्रारम्भिक निर्वाचनको नाममा आर्थिक अपारदर्शिता भएको भन्दै शुल्क फिर्ता मागेका थिए। रास्वपाले प्रत्यक्ष उम्मेदवारका लागि २५ हजार र समानुपातिकमा समावेश हुने भन्दै ५० हजार रुपैयाँ शुल्क लिने गरेको छ।