मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा अवस्थित प्रसिद्ध मुक्तिनाथ मन्दिर दर्शनका लागि श्रद्धालु भक्तजनहरू घोडामा चढेर यात्रा गरिरहेका छन्। हिन्दू तथा बौद्ध दुवै धर्मावलम्बीहरूको आस्थाको प्रमुख केन्द्र रहेको मुक्तिनाथ मन्दिर पुग्नका लागि उकालो सिँढीहरू चढ्नुपर्ने र चिसो मौसममा सेताम्मे हिउँ पर्ने भएकाले उच्च उचाइ (हाइ अल्टिच्युट)को समस्या हुन सक्छ। यस्तो अवस्थामा पैदल यात्रा गर्न गाह्रो हुने भएकाले धेरैजसो भक्तजनहरूले घोडा सवारीको सहारा लिने गरेका छन्।
स्थानीय घोडा व्यवसायीहरूले रानीपौवा देखि मन्दिरसम्म घोडामा चढाएर लैजाने सेवा प्रदान गर्दै आएका छन्। यो सुविधाले विशेष गरी वृद्धवृद्धा, बालबालिका तथा स्वास्थ्य समस्या भएका तीर्थयात्रीहरूलाई ठूलो राहत मिलेको छ।
घोडा सवारीको मूल्य प्रतिव्यक्ति करिब ४०० रुपैयाँ (एकतर्फी) रहेको स्थानीयहरूले बताएका छन्। मुक्तिनाथ मन्दिरको उचाइ ३,७१० मिटर रहेको र हिउँदको समयमा चिसो बढी हुने भएकाले घोडा तथा स्टेचर ९डोली० जस्ता सुविधाले दर्शनार्थीहरूलाई सहज बनाएको छ।
पछिल्लो समय तीर्थयात्रुको सङ्ख्या बढेसँगै यो सेवा झन् लोकप्रिय बन्दै गएको छ। भक्तजनहरूले घोडामा चढेर यात्रा गर्दा रमाइलोसँगै सुरक्षित रूपमा मन्दिरसम्म पुग्न पाउने बताएका छन्। मुक्तिनाथ दर्शनपछि भक्तजनहरूले १०८ धाराको पानीमा स्नान गरी पापमुक्त हुने विश्वास गर्छन्। यो ठाउँलाई मोक्ष प्राप्तिको द्वार पनि मानिन्छ।

प्रतिक्रिया