कास्की । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक अहिले चरम निराशा र अविश्वासको भूमरीमा रहेकाले देशलाई सम्हाल्ने शक्तिको खाँचो रहेको बताएका छन्। कांग्रेस कास्कीको सभालाई सम्बोधन गर्दै उनले उत्तेजना फैलाउने भन्दा पनि धैर्यपूर्वक देशलाई निकास दिने शक्तिको रूपमा कांग्रेसले भूमिका खेल्नुपर्ने बताए।
अहिले समाजमा नागरिकहरूबीच गहिरो रिस र राज्यका संयन्त्रहरूप्रति चरम अविश्वास रहेको भन्दै उनले यस्तो संवेदनशील अवस्थामा जिम्मेवार राजनीतिक शक्तिको खाँचो रहेको बताए। ‘देश सम्हाल्ने शक्ति चाहिएको छ अहिले। आगो जसले पनि लगाउन सक्छ, निभाउनलाई धैर्यता चाहिन्छ, क्षमता चाहिन्छ। त्यो तागत हामीले राख्नुपर्ने छ,’ उनले भने, ‘उत्तेजना जसले पनि फैलाउन सक्छ, तर चेतनाको राजनीति गर्ने शक्ति चाहिएको छ हामीलाई। त्यो कांग्रेस हो। हामीले मिलाउँछौं, हामीले सम्हाल्छौं।’ सभापति थापाले नागरिकमा गहिरो असन्तुष्टि रहेको भन्दै आगामी दिनमा सुधारबाटै उनीहरूलाई जवाफ दिनुपर्ने बताए।
‘नागरिकहरूमा रिस छ । त्यो रिस गहिरो छ। राज्यका संस्थाहरू, संविधान, अदालत, राजनीतिक दल र नेतृत्वप्रति चरम अविश्वास छ,’ उनले थपे, ‘यो अविश्वास झाँगिँदै गएर सिङ्गो देशले नै आत्मविश्वास गुमाएको जस्तो अवस्था छ। समाजमा एउटा ठूलो कोलाहल छ, भित्रभित्र आगो बलिरहेको छ। यो बेलामा नेपाली कांग्रेस पार्टीको जिम्मेवारी हो यसलाई सम्हाल्ने।’ मुलुकमा देखिएको निराशाको मुख्य जड भ्रष्टाचार रहेको उनको तर्क छ। ‘सबैभन्दा ठूलो शत्रु नेपालको को हो भनेर सोध्यो भने नागरिकले भन्छ ‘करप्सन’। भ्रष्टाचार विरुद्धको सबैभन्दा ठूलो योद्धा बदलिएर आएको नेपाली कांग्रेस हो,’ उनी भन्छन्, ‘जसको टाउकोदेखि पुच्छरसम्म प्रत्येक नेता एउटा सङ्कल्प गरेर आएको छ। नेपाललाई जसरी हिजो हिंसाको आहालबाट बाहिर निकाल्यौँ, अब भ्रष्टाचारको आहालबाट हामी बाहिर निकाल्छौं।’

प्रतिक्रिया