रौतहटमा ४ वर्षीया बालिका मृत्यु प्रकरणमा कार चालकविरुद्ध ५ दिन म्याद थप

रौतहटमा ४ वर्षीया बालिका मृत्यु प्रकरणमा कार चालकविरुद्ध ५ दिन म्याद थप

बालिकालाई ठक्कर दिने कार चालक शेख मुस्ताख हिरासतमा


काठमाडौं । रौतहटमा चार वर्षीया बालिकाको ज्यान जाने गरी भएको सवारी दुर्घटनामा संलग्न कार चालकविरुद्ध अदालतले पाँच दिनको म्याद थप गरेको छ।
बालिकालाई ठक्कर दिने बा १५ च ४२४४ नम्बरको कार चालक रौतहटको परोहा नगरपालिका–३ का २७ वर्षीय शेख मुस्ताखविरुद्ध पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता तथा डीएसपी विष्णु प्रदीप बस्यालका अनुसार अदालतबाट म्याद थप भई घटनाबारे थप अनुसन्धान भइरहेको छ।
बिहीबार दिउँसो करिब २ बजे रौतहटको इशनाथ नगरपालिका–३ मठिया टोलमा मुस्ताखले चलाएको कारले ठक्कर दिँदा चार वर्षीया बालिका अल्फा खातुनको घटनास्थलमै मृत्यु भएको थियो।

प्रहरीका अनुसार उक्त कार राष्ट्रिय स्वतन्त्र पार्टीका रौतहट क्षेत्र नम्बर–२ का उम्मेदवार शेख सगिरको नाममा दर्ता रहेको पाइएको छ। दुर्घटनाका बेला कार सगिरको चुनावी प्रचारका क्रममा प्रयोग भइरहेको भए पनि उनी स्वयं भने कारमा सवार नरहेको प्रहरीले स्पष्ट पारेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।