काठमाडौ — नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी निर्वाचनपछि देशमा अस्थिरता र हिंसा नदोहोरिने ग्यारेन्टी आफ्नो पार्टीले मात्र दिन सक्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विगतमा भएका भाद्र २३ र २४ गतेका घटनालाई स्मरण गर्दै भने, “एक पटक आँखा चिम्लिएर सोचौं — फागुन २१ पछि २२ पनि आउँछ। अर्को वर्षको भाद्र २३ र २४ पनि आउँछ। त्यसबेला फेरि सरकारले नागरिकमाथि गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसले दिन सक्छ ? यो ग्यारेन्टी नेपाली कांग्रेसले मात्र दिन सक्छ। हामी यो जिम्मेवारी लिन तयार छौं।”
उनले यो कुरालाई मतदातासँग जोड्दै कांग्रेसले देशलाई स्थिरता, शान्ति र विकासको बाटोमा लैजान सक्षम रहेको जिकिर गरे।
सभापति थापाले थपे, “हामी युवादेखि बुढापाकासम्म सबै नागरिकसँग संवाद गर्छौं। निर्वाचनपछि कांग्रेसले देश विकासको नयाँ अध्याय सुरु गर्नेछ। हामी देशलाई सम्हाल्ने नेतृत्व गर्न चाहन्छौं।”
उनको यो अभिव्यक्तिलाई राजनीतिक वृत्तमा कांग्रेसले आफूलाई स्थिरता र जिम्मेवार नेतृत्व दिने पार्टीको रूपमा प्रस्तुत गर्ने प्रयासका रूपमा हेरिएको छ। विशेषगरी विगतका राजनीतिक हिंसा र अस्थिरताको सन्दर्भमा यो भनाइले मतदाताको ध्यान तान्ने प्रयास गरेको देखिन्छ।

प्रतिक्रिया