भूमिहीनको आवाज ओलीसमक्ष : ‘फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्’

भूमिहीनको आवाज ओलीसमक्ष : ‘फेरि जितेर धनीपुर्जा दिलाइदिनुहोस्’


झापा। झापाको कमल गाउँपालिकामा बसोबास गर्दै आएका भूमिहीन परिवारहरूले आफ्ना दीर्घकालीन समस्या समाधानका लागि नेकपा (एमाले) र त्यसको नेतृत्वको विकल्प नरहेको बताएका छन् ।
उनीहरूले एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै आगामी निर्वाचनमा पुनः विजयी भई आफूहरूलाई जग्गाको धनीपुर्जा दिलाइदिन आग्रह गरेका छन् ।
कमल गाउँपालिकाका विभिन्न बस्तीमा आयोजित भेटघाटका क्रममा भूमिहीन परिवारहरूले भूमिसम्बन्धी समस्या समाधानमा एमाले नेतृत्वले देखाएको पहल स्मरण गर्दै निरन्तरता आवश्यक रहेको धारणा राखेका हुन् । स्थानीय भन्छन्,‘आयोग गठनदेखि नीतिगत निर्णयसम्मको स्पष्ट इच्छाशक्ति एमालेले मात्र देखाएको छ ।’
भेटका क्रममा अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकारले भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्या समाधानका लागि आयोग गठन गरी काम सुरु गरे पनि सरकार परिवर्तनसँगै ती प्रयासहरू अवरुद्ध हुने गरेको उल्लेख गरे ।
‘हामी आयोग बनाएर काम थाल्छौँ, तर अरू सरकार आएपछि त्यो प्रक्रिया नै भत्काइन्छ,’ उनले भने, ‘अन्ततः काम त एमालेले नै गर्नुपर्ने हुन्छ ।’
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ५ का उम्मेदवारसमेत रहेका अध्यक्ष ओलीले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै विकास, बसोबास र रोजगारीका सवालमा एमालेको प्रतिबद्धता गरे ।
स्थानीयबासीहरूले एमाले र ओलीकै नेतृत्वमा गाउँको मुहार फेरिने गरी विकासका योजना अघि बढेको उल्लेख गर्दै अधुरा योजनाहरू पूरा गर्न फेरि पनि निर्वाचनमा एमालेकै पक्षमा उभिने प्रतिबद्धता जनाएका छन्। उनीहरूले एमाले र अध्यक्ष ओलीको विकल्प नभएको निष्कर्षसमेत सुनाएका थिए।