मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु


रौतहट । रौतहटमा गएराति मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु भएको छ। आइतबार राति दुर्गाभगवती गाउँपालिका( ४ स्थित गौर–गंगापिपरा सडकखण्डमा भारतीय बीआर ३० यु १३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पतिपत्नीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए। मृत्यु हुनेमा मोटरसाइकल चालक यमुनामाई गाउँपालिका–४ सरुअठाका २४ वर्षीय जितेन्द्र साह र उनकी २१ वर्षीया पत्नी रहेकी छन्।

‘आइतबार बिहान साढे पाँच बजेतिर हामीलाई दुर्घटनाको खबर आएको हो,’ डीएसपी बस्यालले  भने, ‘घटनास्थलबाट प्रहरीले दुवैलाई उठाएर उपचारको लागि प्रादेशिक अस्पताल गौर पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।’ तीव्र गतिको कारण मोटरसाइकल दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। सडकबाट करिब ५० मिटर तल खसेर मोटरसाइकल सिसौको रुखमा ठोकिँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्गा भगवती ३ मा रहेको जेठानको घरबाट भोज खाएर राति साढे ११ बजेतिर उनीहरू मोटरसाइकल लिएर निस्किएका प्रहरीको अनुसन्धानबाट खुलेको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डएसपी बस्यालले बताए।