मुस्ताङ । प्रधानमन्त्री सुशीला कार्की ले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१ स्थित पवित्र मुक्तिनाथ मन्दिर को दर्शन गर्नुभएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत मुक्तिनाथ पुग्नुभएकी प्रधानमन्त्री कार्कीले १०८ धारामा जलसेचन गरी विधिपूर्वक पूजा–अर्चना गर्नुभएको थियो। मन्दिर परिसरमा पुग्दा उहाँलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामगेल गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी एकनारायण भण्डारी, मुक्तिनाथ विकास समितिका पदाधिकारी तथा स्थानीय प्रतिनिधिहरूले स्वागत गर्नुभएको थियो।
मन्दिरतर्फ करिब २०० मिटर पैदल यात्रा गर्ने क्रममा प्रधानमन्त्री कार्कीले स्वदेशी तथा विदेशी दर्शनार्थी र पर्यटकसँग भलाकुसारीसमेत गर्नुभएको बताइएको छ। यस अवसरमा मुक्तिनाथ विकास समितिका पदाधिकारीहरूले मन्दिर क्षेत्रमा आवश्यक पूर्वाधार निर्माणका योजनाबारे जानकारी गराउँदै स्वीकृतिमा भइरहेको ढिलाइप्रति ध्यानाकर्षण गराएका थिए। चेन्जिङ रुम, १०८ धारा पुनर्निर्माण, एनएक्स भवन, आनी आवासलगायतका योजनाका फाइल पुरातत्व विभागमा पेस गरिए पनि स्वीकृतिमा ढिलाइ हुँदा काम अघि बढ्न नसकेको गुनासो गरिएको थियो।
जवाफमा प्रधानमन्त्री कार्कीले सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइने आश्वासन दिनुभएको विकास समितिका व्यवस्थापकले जानकारी दिएका छन्। मुक्तिनाथमा करिब एक घण्टा बिताएपछि प्रधानमन्त्री कार्की जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गण पुग्नुभएको थियो। त्यहाँ आयोजित निर्वाचनलक्षित छलफल कार्यक्रममा उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिनुभएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन सफल बनाउन सबै सुरक्षा निकाय र सम्बन्धित पक्षलाई समन्वय र तयारीमा जुट्न आग्रह गर्नुभएको थियो।

प्रतिक्रिया