थपलियाको कडा खण्डन: “गगन थापालाई हराउने षड्यन्त्र” आरोप तथ्यहीन र कपोलकल्पित

थपलियाको कडा खण्डन: “गगन थापालाई हराउने षड्यन्त्र” आरोप तथ्यहीन र कपोलकल्पित


काठमाडौ । डा. शेखर कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले रातो पाटी अनलाइनमा प्रकाशित समाचारप्रति कडा आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारी गरेका छन्।

उक्त समाचारमा थपलियालाई डा. शेखर कोइरालाको स्वकीय सचिवको हैसियतमा विभिन्न राजनीतिक गतिविधिमा संलग्न भएको र विशेष गरी नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई आगामी निर्वाचनमा हराउन षड्यन्त्र रचेको आरोप लगाइएको थियो।

तर थपलियाले आज जारी गरेको प्रेस विज्ञप्तिमा यी सम्पूर्ण आरोपहरूलाई **पूर्णतः तथ्यहीन, भ्रामक र कपोलकल्पित** बताएका छन्। उनले भनेका छन्, “एक जिम्मेवार नेताको स्वकीय सचिवको रूपमा कार्यरत व्यक्तिले यस्ता कुराको कल्पना सम्म पनि गर्न सक्दिन। मेरो भूमिका सधैं संगठनको मूल्य, मान्यता, अनुशासन र नेतृत्वप्रतिको निष्ठामा आधारित रहेको छ।”

प्रेस विज्ञप्तिमा थप स्पष्ट पार्दै उनले भनेका छन् कि समाचारमा उल्लेखित तथाकथित नाम गरेका व्यक्ति को हुन् भन्ने जानकारी नै आफूलाई छैन। उपेन्द्र कुशवाहा तथा अमरेश सिंहसँग कुनै प्रकारको संवाद वा भेट भएको छैन भनी दृढतापूर्वक उल्लेख गरेका छन्।

यस्ता निराधार समाचारले व्यक्तिगत प्रतिष्ठामात्र नभई समग्र पार्टी, संगठन र लोकतान्त्रिक अभ्यासमाथि नै आघात पुर्‍याउने उनको भनाइ छ। वर्तमान संवेदनशील राजनीतिक अवस्थामा यस्ता भ्रमपूर्ण प्रचारले जनविश्वास कमजोर बनाउने र संगठनलाई बदनाम गर्ने कार्य मात्र गर्ने उनले बताए।

थपलियाले यस विषयमा सरोकारवाला निकायहरूसँग परामर्श गरिरहेको बताउँदै आवश्यक परेमा प्रकाशित अडियोको स्वतन्त्र फोरेन्सिक परीक्षण गराउने र व्यक्तिगत प्रतिष्ठा तथा सत्यको रक्षा गर्न कानुनी उपचार खोज्ने जानकारी दिएका छन्।

अन्त्यमा, उनले पार्टीका सबै तहका नेता, शुभेच्छुक तथा आम जनसमुदायलाई यस्ता अपुष्ट र भ्रमपूर्ण समाचारप्रति सचेत रहन, सत्य र तथ्यमा आधारित सूचनामात्र विश्वास गर्न तथा अफवाहबाट प्रभावित नहुन हार्दिक अनुरोध गरेका छन्। “सत्य सधैं स्पष्ट हुन्छ, र सत्यको पक्षमा उभिनु नै हाम्रो साझा दायित्व हो,” उनले भनेका छन्।