अमेरिकी राष्ट्रपति डोलाल्ड ट्रम्पले लक्ष्य पूरा नभएसम्म इरानमा कारबाही जारी रहने बताएका छन् । ट्रम्पले भिडियो सन्देशमार्फत यस्तो बताएका हुन् । उनले अमेरिकी हताहती थप बढ्न सक्ने सम्भावना रहेको स्वीकार गर्दै भने, ‘दुःखका साथ भन्नुपर्दा अझै धेरै अमेरिकी सैनिकहरूको ज्यान जान सक्छ । अवस्था यस्तै छ ।’ ट्रम्पले अमेरिकाले ज्यान गुमाएका सैनिकहरूको बदला लिने र सभ्यताविरुद्ध युद्ध छेड्ने ‘आतंकवादी’हरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
‘अमेरिका उनीहरूको मृत्युको बदला लिनेछ, र आतंकवादीहरूलाई सबैभन्दा कडा प्रहार गर्नेछ’, उनले भने । यसै क्रममा उनले इस्लामिक रिभोलुसनरी गार्ड कोर तथा इरानी सैन्य प्रहरीलाई हतियार बिसाउन आग्रह गर्दै पूर्ण क्षमादान पाउने अवसर रहेको बताएका छन् । अन्यथा ‘निश्चित मृत्युको सामना गर्नुपर्नेछ, र त्यो अवस्था राम्रो हुने छैन’ भन्ने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया