काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसहित पार्टीका अधिकांश उम्मेदवारहरू प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि अध्यक्ष पदबाट राजीनामा दिने तयारी गरेका छन् । पार्टीका पदाधिकारी, शुभचिन्तक तथा परिवारजनबाट समेत राजीनामा दिन दबाब बढेपछि ओलीले यो निष्कर्षमा पुगेका हुन् ।
शुक्रबार र शनिबार पार्टीका प्रभावशाली नेताहरूसँग भएको छलफल तथा परामर्शपछि उनले राजीनामा दिने निर्णय गरेको स्रोतले बताएको छ । निर्वाचनमा एमालेको निराशाजनक प्रदर्शनपछि पार्टीभित्र नेतृत्व परिवर्तनको माग तीव्र बनेको छ ।
यो निर्वाचनमा ओली आफैं झापा–५ बाट रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग भारी मतान्तरले पछि परेका छन् । मतगणनाको पछिल्लो अपडेटअनुसार बालेनले ओलीभन्दा ३० हजारभन्दा बढी मतले अग्रता कायम गरेका छन् । ओलीले २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक पटक आफ्नो क्षेत्रबाट विजयी हुँदै आएका थिए ।
पार्टीका उपाध्यक्ष विष्णु पौडेल लगायत अन्य शीर्ष नेताहरू पनि पराजित भएका छन् । देशभर एमालेको प्रदर्शन कमजोर रहँदा समानुपातिकतर्फ पनि पार्टी चौथो स्थानमा झरेको छ । रास्वपाले प्रतिनिधिसभामा ठूलो अग्रता लिएको छ भने कांग्रेस दोस्रो स्थानमा छ ।
पार्टीभित्रका केही स्थायी कमिटी सदस्यहरूले ओलीमाथि नैतिक जिम्मेवारी लिन दबाब दिइरहेका छन् । ‘अहंकार, उमेर र स्वास्थ्यका कारण पनि अब नेतृत्वमा बस्न उचित छैन,’ एक पदाधिकारीले भनेका छन् । पार्टीले ब्यहोरेको पराजयमा नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने माग बढ्दै गएपछि ओलीले राजीनामा दिने मुडमा पुगेको बताइएको छ ।

प्रतिक्रिया