काठमाडौ । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा हालसम्म पाँच स्थानमा महिला उम्मेदवार विजयी हुनुभएको छ । निर्वाचन आयोगका अनुसार काठमाडौँ– १ मा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का रञ्जु न्यौपाने १५ हजार ४५५ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
साथै मोरङ–६ मा रास्वपाका रुविना आर्चाय ५५ हजार ५१३ मत, कास्की–३ मा रास्वपाका बिना गुरुङ ३७ हजार ७५० मत र कैलाली–१ रास्वपाका कोमल ज्ञवाली १७ हजार ८२६ मत प्राप्त विजयी हुनुभयो । दैलेख निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले १२ हजार ३७२ मतप्राप्त गरी विजयी हुनुभएको छ ।
जारी मतगणनामा रास्वपाकी सोविता गौतम (चितवन–३), डा तोसिमा कार्की (ललितपुर–३), इन्दिरा रानामगर (झापा–२), निशा डाँगी (झापा–१०, नीतिमा भण्डारी (सर्लाही–१), आशिका तामाङ (धादिङ–१), पुष्पाकुमारी चौधरी (सप्तरी –१) र गौरीकुमारी (महोत्तरी-४)मा अग्रस्थानमा हुनुहुन्छ । आयोगका अनुसार हालसम्म ४५ स्थानमा नतिजा सार्वजनिक भइसकेको छ ।
पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ कूल १६५ निर्वाचन क्षेत्रमध्ये हाल ११८ स्थानमा मतगणना जारी छ । प्रतिनिधिसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ कूल तीन हजार ४०६ मध्ये महिला उम्मेदवार ३८८ जना हुनुहुन्थ्यो ।

प्रतिक्रिया