महानायक हमाल अभिनीत ‘प्रवासी जीवन’बक्स अफिसमा सुपर फ्लप

महानायक हमाल अभिनीत ‘प्रवासी जीवन’बक्स अफिसमा सुपर फ्लप


काठमाडौं । महानायक राजेश हमाल अभिनीत चलचित्र ‘प्रवासी जीवन’बक्स अफिसमा सुपर फ्लप साबित भएको छ । फागुन १५ गतेदेखि नेपालभर प्रदर्शनमा आएको यो चलचित्रले ९ दिनमा मात्र १ लाख ३८ हजार ४८० रुपैयाँ ग्रस कमाइ गरेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको विवरणअनुसार यस अवधिमा कुल ५०९ वटा मात्र टिकट बिक्री भएको छ ।

चुनावको माहोलमा अन्य निर्माताहरूले चलचित्र प्रदर्शन गर्न डराएको बेला ‘प्रवासी जीवन’ एकल प्रदर्शनको अवसर पाए पनि दर्शकको खडेरीले यसलाई प्रभावित बनायो । धेरै दर्शकलाई चुनावी व्यस्तताका कारण चलचित्र हलमा लागेको पत्तै भएन । धेरै हलबाट यो चलचित्र उत्रिसकेको छ भने बाँकी हलहरूमा पनि शोहरू निकै कम भएका छन् ।

अमेरिकामा बसोबास गर्ने नेपालीहरूको संघर्ष, सफलता र प्रवासी जीवनको पीडालाई विषय बनाएको यो चलचित्रलाई निर्माताहरूले पनि खास अपेक्षा राखेको देखिँदैन । श्याम क्षेत्री र राम अधिकारीको संयुक्त निर्देशनमा बनेको चलचित्रमा राजेश हमालका अलावा सरिता लामिछाने, बुद्धि तामाङ, महादेव त्रिपाठी, श्याम क्षेत्री, एन्जेला एक्स बस्नेत, गगन सुवेदीलगायत कलाकारहरूको अभिनय छ । रबिन आचार्यको लगानी रहेको यो चलचित्रले दर्शकको मन जित्न सकेन । चुनावी समयमा एकल प्रदर्शनको फाइदा उठाउन नसक्दा ‘प्रवासी जीवन’ नेपाली चलचित्र इतिहासकै कम कमाइ गर्ने चलचित्रहरू मध्ये एक बन्न पुगेको छ ।