एजेन्सी । आयतुल्लाह अली खामेनीका छोरा मोजतबा खामेनी इरानका नयाँ सर्वोच्च नेता चयन भएका छन् । इरानको सरकारी मिडियाका अनुसार देशको ८८ सदस्यीय धार्मिक संस्था असेम्ब्ली अफ एक्सपर्ट्सले उनलाई नयाँ सर्वोच्च नेताको रूपमा चयन गरेको हो ।
यही संस्थाको जिम्मेवारी देशको सर्वोच्च नेता छान्ने हुन्छ । संस्थाको एक विज्ञप्ति सरकारी टेलिभिजनमार्फत पढेर सुनाइँदै भनिएको छ, युद्धका अत्यन्त गम्भीर परिस्थितिका बाबजुद र हाम्रो संस्थाविरुद्ध दुश्मनहरूले दिएका प्रत्यक्ष धम्कीहरूका बीच पनि नेतृत्व चयन र घोषणा गर्ने प्रक्रिया एक क्षणका लागि पनि रोकिएन । असेंब्ली अफ एक्सपर्ट्सको सचिवालय कार्यालयमा भएको बमबारीमा केही कर्मचारी र सुरक्षा टोलीका सदस्यहरूको मृत्यु भए पनि प्रक्रिया जारी रह्यो ।विज्ञप्ति पढेपछि टिभी प्रस्तोताले अल्लाहु अकबर, अल्लाहु अकबर, खामेनी नै रहबरु भन्ने नारा समेत लगाएका थिए ।
अमेरिका र इजराइलको हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएपछि उनका छोरा मोजतबा खामेनी पनि मारिएको हुनसक्ने आशंका व्यक्त गरिएको थियो । केही दिनसम्म उनको अवस्था सार्वजनिक नभए पनि मार्च ३ मा इरानको सरकारी मिडियाले मोजतबा जीवित रहेको र देशका महत्त्वपूर्ण विषयमा छलफल तथा समीक्षा गरिरहेको जनाएको थियो ।
लो–प्रोफाइल व्यक्तित्व
आफ्ना पिताको तुलनामा मोजतबाले सधैं सार्वजनिक जीवनमा निकै कम उपस्थिति राखेका छन् । उनले कुनै सरकारी पद सम्हालेका छैनन् । न त उनी सार्वजनिक भाषण दिन्छन्, न त अन्तर्वार्ता । उनका तस्वीर र भिडियोहरू पनि निकै कम सार्वजनिक भएका छन् ।
समाचार एजेन्सी एपीका अनुसार २००० को दशकको अन्त्यतिर विकिलिक्सले सार्वजनिक गरेका अमेरिकी कूटनीतिक कागजातहरूमा उनलाई ुपर्दापछाडिको वास्तविक शक्तिुका रूपमा वर्णन गरिएको थियो । ती कागजातमा उनलाई शासनभित्र सक्षम र दृढ नेताुका रूपमा समेत उल्लेख गरिएको थियो ।
विवादको सम्भावना
मोजतबाको चयनले विवाद पनि उत्पन्न गर्न सक्छ । १९७९ मा इरानमा राजतन्त्र हटाएर इस्लामिक गणराज्य स्थापना गरिएको थियो । यसको मूल सिद्धान्त अनुसार सर्वोच्च नेता धार्मिक प्रतिष्ठा र प्रमाणित नेतृत्व क्षमताका आधारमा चयन हुनुपर्छ, वंशानुगत रूपमा होइन ।
अली खामेनीले भविष्यको नेतृत्वबारे सामान्य टिप्पणी मात्र गरेका थिए । दुई वर्षअघि असेंब्ली अफ एक्सपर्ट्सका एक सदस्यले अली खामेनी आफ्ना छोरा मोजतबालाई उत्तराधिकारी बनाउने विचारको विपक्षमा रहेको बताएका थिए, यद्यपि उनले यसबारे सार्वजनिक रूपमा कहिल्यै टिप्पणी गरेका थिएनन् ।
को हुन् मोजतबा खामेनी ?
८ सेप्टेम्बर १९६९ मा इरानको उत्तरपूर्वी शहर मशहदमा जन्मिएका मोजतबा खामेनीका छ सन्तानमध्ये दोस्रो हुन् । उनले तेहरानको धार्मिक ‘अलावी स्कुल’बाट माध्यमिक शिक्षा पूरा गरेका थिए ।
इरानी मिडियाका अनुसार १७ वर्षको उमेरमा उनले इरान–इराक युद्धका क्रममा केही अवधिसम्म सेनामा सेवा गरेका थिए । उक्त युद्धमा पश्चिमी देशहरूले खुला रूपमा इराकको समर्थन गरेकाले इरानमा अमेरिका र पश्चिमप्रति अविश्वास अझ गहिरिएको थियो ।
१९९९ मा उनी धार्मिक अध्ययन जारी राख्न कुम शहर गएका थिए, जुन शिया धर्मशास्त्र अध्ययनको प्रमुख केन्द्र मानिन्छ । त्यतिबेलासम्म उनले धार्मिक पोशाक लगाएका थिएनन् र ३० वर्षको उमेरमा मदरसामा पढ्न किन गए भन्ने विषय पनि स्पष्ट छैन, किनकि यस्तो अध्ययन सामान्यतया कम उमेरमै सुरु हुन्छ ।
मोजतबा अहिले पनि मध्यम स्तरका धर्मगुरु मानिन्छन्, जुन उनको सर्वोच्च नेता बन्ने मार्गमा चुनौती हुन सक्छ । पछिल्लो समय इरानका केही मिडिया र अधिकारीहरूले उनलाई ‘आयतुल्लाह’ भनेर सम्बोधन गर्न थालेका छन् । केही विश्लेषकहरूका अनुसार यसले उनको धार्मिक हैसियत बढाएर नेतृत्वका लागि योग्य उम्मेदवारका रूपमा प्रस्तुत गर्ने प्रयास देखिन्छ ।
विगतका विवादहरू
मोजतबाको नाम पहिलोपटक २००५ को राष्ट्रपतीय चुनावका बेला चर्चामा आएको थियो, जसमा कट्टरपन्थी नेता महमूद अहमदीनेजाद विजयी भएका थिए । सुधारवादी उम्मेदवार मेहदी क्रुबीले खामेनीलाई लेखेको खुला पत्रमा मोजतबाले चुनावमा हस्तक्षेप गरेको आरोप लगाएका थिए ।
त्यसमा उनले इस्लामिक रिभोल्युसनरी गार्ड कोर ९आईआरजीसी० र बसिज मिलिसियाका केही समूहमार्फत धार्मिक संस्थाहरूमा पैसा बाँडेर अहमदीनेजादको जित सुनिश्चित गरिएको आरोप लगाएका थिए ।
२००९ को चुनावपछि अहमदीनेजाद पुनः निर्वाचित हुँदा देशभर ‘ग्रीन मुभमेन्ट’ नामक ठूलो विरोध प्रदर्शन भएको थियो । केही प्रदर्शनकारीहरूले मोजतबा आफ्ना पितापछि सर्वोच्च नेता बन्ने सम्भावनाको विरोधमा नारासमेत लगाएका थिए ।
तत्कालीन उप–गृहमन्त्री मोस्तफा ताजजादेहले चुनाव परिणामलाई ‘चुनावी कू’ भन्दै आलोचना गरेका थिए । उनलाई सात वर्ष जेल सजाय दिइएको थियो ।
आगामी चुनौती
कैयौँ विश्लेषकहरूका अनुसार मोजतबा खामेनीले आफ्ना पिताकै कठोर नीतिहरूलाई निरन्तरता दिन सक्छन् । अमेरिका–इजराइल आक्रमणमा आफ्ना परिवारका सदस्य गुमाएका कारण उनी पश्चिमी दबाबमा सजिलै झुक्ने सम्भावना कम रहेको पनि कतिपयको भनाइ छ ।
तर उनको सबैभन्दा ठूलो चुनौती इस्लामिक गणराज्यको अस्तित्व जोगाउनु र देशलाई राजनीतिक तथा आर्थिक संकटबाट बाहिर निकाल्न सक्ने नेतृत्व आफू नै भएको विश्वास जनतालाई दिलाउनु हुनेछ ।
उनी अझै पूर्ण रूपमा परीक्षण नभएको नेतृत्व मानिन्छन् । साथै, इरानको इस्लामिक गणराज्य वंशानुगत प्रणालीतर्फ जाँदैछ भन्ने धारणा बलियो भएमा जनअसन्तुष्टि बढ्ने सम्भावना पनि छ ।
यसैबीच इजराइलका रक्षामन्त्रीले इरानको नेतृत्व सम्हाल्ने जो–कोही उत्तराधिकारी पनि ‘स्पष्ट रूपमा निशानामा रहने’ चेतावनी दिएका छन् ।

प्रतिक्रिया