काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना सकिएको छ । निर्वाचन आयोगका अनुसार देशभर समानुपातिककतर्फ १ करोड, ७ लाख ६९ हजार ५४३ मत सदर भएको छ । समानुपातिकत प्रणालीबाट ११० जना सांसद निर्वाचित हुनेछन् । आयोगका अनुसार समानुपातिक सिटका लागि आवश्यक पर्ने कम्तीमा तीन प्रतिशत मत पाउनुपर्ने थ्रेस होल्ड पार गर्ने दलहरूको संख्या छ मात्र ।
विभिन्न ६४ वटा निर्वाचन चिह्नमा ५६ पार्टी चुनावमा गएका थिए । तर, तीमध्ये ६ वटा पार्टीले मात्र थ्रेस होल्ड कटाएकाले उनीहरूले पाएको मतका आधारमा ११० सिट आयोगले बाँड्नेछ । यसअघि समानुपातिक थ्रेस होल्ड पार गरेका जसपा नेपाल र जनमत पार्टीले योपटक प्रत्यक्षतर्फ पनि जित निकाल्न सकेनन् भने समानुपातिकतर्फ पनि थ्रेस होल्ड कटाएनन् । प्रत्यक्षतर्फ १२५ सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ ५१ लाख ३९ हजार २३५ मत पाएको छ । यस आधारमा रास्वपाले समानुपातिकबाट थप ५७ सिट पाउने देखिएको छ । उसको २७५ सदस्यीय प्रतिनिधिसभामा १८२ सिट पुग्ने देखिएको छ । यो भनेको दुईतिहाई बहुमतभन्दा मात्र २ सिट कम हो ।
धनुषा–१ को प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक गरिएको छैन । यो विवाद सर्वोच्च अदालत पुगेको छ । यदि यो विवादमा रास्वपाका उम्मेदवार केशरी महतोको पक्षमा आए रास्वपाको एक सिट बढ्नेछ । निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरे पनि मतगणना गर्दा रास्वपाको चुनाव चिह्न घण्टीमा आएको मत गणना गरिएको छ । र त्यसमा सबैभन्दा बढी मत रास्वपाले पाएको छ । यदि आयोगको उम्मेदवारी खारेज गर्ने निर्णय सर्वोच्च अदालतले खारेज गरेमा केशरी महतो निर्वाचित हुनेछन् । नत्र नेकपाका मातृकाप्रसाद यादव निर्वाचित हुनेछन् ।
प्रत्यक्षतर्फ १८ सिट जितेको नेपाली कांग्रेसले समानुपातिकतर्फ १७ लाख ४९ हजार ५८३ मत पाएको छ । यसअनुसार कांग्रेसले समानुपातिकबाट करिब २० सिट थप्ने सम्भावना रहेको छ। त्यस्तै प्रत्यक्षतर्फ ९ सिट जितेको नेकपा एमालेले समानुपातिकमा १४ लाख ५१ हजार ७५९ मत पाएको छ ।
यस आधारमा एमालेले १६ सिट थप्ने निश्चित भएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको नेपाल कम्युनिस्ट पार्टीले समानुपातिकतर्फ ८ लाख ९ हजार ७१ मत प्राप्त गरेको छ। यसअनुसार उक्त पार्टीले थप ९ सिट पाउने भएको छ । चार महिना अघि मात्रै स्थापना भएको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ ३ सिट जितेको छ भने समानुपातिकमा ३ लाख ८५ हजार ६८२ मत पाएको छ। यस आधारमा उसले समानुपातिकबाट थप ४ सिट पाउने निश्चित भएको छ । प्रत्यक्षतर्फ १ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले समानुपातिकमा ३ लाख ३० हजार ८२ मत पाएको छ । यस आधारमा उसले करिब ४ सिट पाउने सम्भावना रहेको छ।

प्रतिक्रिया