इजरायलद्वारा नेपाललाई बधाई, इरानलाई ‘२१औँ शताब्दीको सम्भावित ठूलो खतरा’को संज्ञा

इजरायलद्वारा नेपाललाई बधाई, इरानलाई ‘२१औँ शताब्दीको सम्भावित ठूलो खतरा’को संज्ञा


काठमाडौं ।  इजरायलले  नेपालमा हालै शान्तिपूर्ण रूपमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रशंसा गर्दै नेपाललाई बधाई दिएको छ। नेपालका लागि इजरायली राजदूत समुलिक ए बासले बिना अवरोध निर्वाचन सम्पन्न हुनु लोकतान्त्रिक अभ्यासका लागि ठूलो सफलता भएको बताएका हुन्।

सोमबार काठमाडौंको लाजिम्पाटस्थित इजरायली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा राजदूत बासले आफ्नो देश जोडिएको पश्चिम एसियामा जारी द्वन्द्वबारे जानकारी दिएका थिए।  पत्रकार सम्मेलनका क्रममा उनले इरानलाई ‘२१औँ शताब्दीको सम्भावित ठूलो खतरा’का रूपमा चित्रित गरे। इरानको वैज्ञानिक क्षमता र सैन्य विकास तीव्र गतिमा अघि बढिरहेको उल्लेख गर्दै उनले इरान अब तेस्रो विश्वको देश मात्र नभई औद्योगिक तथा प्राविधिक शक्तिका रूपमा अघि बढिरहेको बताए।

राजदूत बासका अनुसार विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित विषयमा स्नातक उत्पादन गर्ने देशहरूको सूचीमा इरान शीर्ष १० भित्र पर्छ। करिब ३५ प्रतिशत विद्यार्थी प्रविधिसम्बन्धी विषय अध्ययन गर्ने भएकाले इरानले सेन्ट्रीफ्युज तथा ब्यालिस्टिक मिसाइलजस्ता जटिल प्रविधि विकास गर्न सकेको उनको दाबी थियो। उनले इरानले महिनामा १०० देखि ३०० वटासम्म ब्यालिस्टिक मिसाइल उत्पादन गर्न सक्ने क्षमता विकास गरिसकेको दाबी गर्दै भविष्यमा हजारौँ मिसाइल उत्पादन गर्न सक्ने सम्भावना रहेको बताए।

राजदूत बासले इरानको शासन प्रणालीलाई दमनकारी भन्दै त्यहाँको सरकारले आफ्नै नागरिकमाथि हिंसा गरेको आरोप समेत लगाए। सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरान र उसका समर्थकहरूले हजारौँ इजरायली तथा अमेरिकी नागरिकको हत्या गरेको उनले आरोप लगाए। इरानलाई नाजी जर्मनीसँग तुलना गर्दै उनले कडा टिप्पणी पनि गरे। उनका अनुसार शिक्षित जनशक्ति, उन्नत प्रविधि र कट्टर वैचारिकता एकै ठाउँमा जोडिँदा खतरनाक संयोजन बन्न सक्छ। उनले Adolf Hitler को नेतृत्वमा रहेको जर्मनी २०औँ शताब्दीको दुःस्वप्न बनेको उल्लेख गर्दै त्यस्तै संयोजन इरानमा देखिन सक्ने चेतावनी दिए।

राजदूत बासले इरानले भविष्यमा १० हजार किलोमिटरसम्म प्रहार गर्न सक्ने अन्तरमहादेशीय मिसाइल विकास गर्न सक्ने र आणविक हतियार बोकेका मिसाइलहरूइजरायली शहर तेल अवीभ, हाइफा, साउदीको रियाद वा यूएईतिर  तर्फ लक्षित हुन सक्ने खतरा रहेको दाबी गरे।

उनका अनुसार यस्ता सम्भावित जोखिम रोक्न इजरायलले अहिले नै कदम चाल्नुपर्ने अवस्था आएको हो। आफूहरूले भू–भाग प्राप्त गर्नका लागि आक्रमण नगरेको बताउँदै उनले पत्रकारहरूलाई प्रश्न गरे, “यदि सन् १९३६ मै नाजी जर्मनीलाई रोक्ने मौका पाएको भए, के तपाईंहरूले आक्रमण गर्नुहुन्नथ्यो?”।