काठमाडौं । १२ दिनदेखि प्रतिबन्धित मध्यपूर्व क्षेत्रको हवाई उडान आंशिक रूपमा सञ्चालनमा आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतका अनुसार अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरूले पाँच दिनदेखि अवस्था हेरेर आंशिक रूपमा उडान सुरु गरेका छन् । अमेरिका(इरान युद्ध सुरु भएपश्चात् यही फागुन १६ गते यात्रुको सुरक्षाको कारण देखाउँदै हवाई उडान बन्द गरिएको थियो ।
सोही कारण नेपालबाट जाने केही अन्तर्राष्ट्रिय उडान रद्द हुँदै आएका छन् । युद्धको प्रभावले गर्दा वायु सेवा प्रदायक कम्पनीहरू यूएई, कतार, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान, बहराइनले आफ्नो ‘एयरस्पेस बन्द’ गर्ने निर्णय गरेका थिए । प्रवक्ता बस्नेतले मध्यपूर्वको तनावपूर्ण स्थितिमा केही सुधार आएपछि अवस्था हेरेर केही वायु सेवा प्रदायक कम्पनीले आंशिक रूपमा उडान सञ्चालनमा ल्याएका जानकारी दिए । “उडान हुने कि नहुने अघिल्लो दिन मात्रै खबर आउँछ, त्यसका आधारमा केही उडान आंशिक रूपमा सुचारु भएका छन्”,
उनले भने, “आंशिक उडान सुरु गर्नेमा एयर अरेबिया र फ्लाइ दुबई छन् ।” त्यस्तै, हिमालय एयरलाइन्सले पनि दुबईमा चार दिनदेखि आंशिक रूपमा उडान थालेको जनाएको छ । एयरलाइन्सले जनाएअनुसार दैनिक १०० जनाको हाराहारीमा यात्रुको उपस्थिति हुने गरेको छ ।

प्रतिक्रिया